जनप्रतिनिधिलाई सम्मान र बधाई



मोतीराम तिमल्सिना, काभ्रे । स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने र जनप्रतिनिधिहरुले मतदातालाई धन्यवाद दिने क्रम अझै जारी छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा जनप्रतिनिधिहरुलाई सम्मान गर्ने क्रम रहेको छ ।  धुलिखेल नगरपालिकाको वडा नम्वर ९ मा नेकपा एमालेले निर्वाचित धुलिखेलका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु र नगरकार्यपालिकाका सदस्यहरुलाई सम्मान गरेको छ । साथै सोहि अवसरमा मतदाताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा एमाले केन्द्रिय स्कुल विभाग सदस्य गोकुल बास्कोटाले जनप्रतिनिधिहरुलाई बधाई दिदै मतदाताहरुलाई प्रदेश र केन्द्रको निर्वाचनमा पनि राष्ट्रियता र जनताको जनजीविकासँग जोडिएका सवालमा जनपक्षिय निर्णय लिने एमालेको पक्षमा मतदान गर्न अनुरोध गरे ।

आफ्नो गाउँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रम मार्फत गाउँ गाउँमा सडक सञ्जाल, सहकारीको स्थापना भई आर्थिक सम्वृद्धी भएको बताए । नेपालमा नाकाबन्दी भईरहेका बेला चट्टानी अडान लिएर राष्ट्रका पक्षमा उभिएको एमाले विरुद्ध घेराबन्दी भए पनी जनताले चिर्ने बताउँदै एमाले नेता बास्कोटाले जनताले अब बुझिसकेको बताए । कार्यक्रममा प्रमुख अशोक ब्याञ्जुले नगरका सबै वडाहरुलाई सम्वृद्ध बनाउन कार्यक्रमहरु तय भईसकेको बताए । उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष बसन्त रानाभाट, एमाले नेताहरु रामकृष्ण हुमागाई, टिकाबल्धव सापकोटा लगायतले एमालेले गर्ने विकास जनताको पक्षमा हुने बताए । कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै बनेपा नगरपालिका वडा नम्बर ७ बाट निर्वाचित वडा अध्यक्ष वर्ण शाक्यले वडाका मतदाताहरुलाई धन्यवाद दिदै बनभोज कार्यक्रमको आयोजना गरेका छन् । निर्वाचनमा विभिन्न कोणबाट सहयोग गर्ने वडाका सम्पूर्ण ब्यक्तिहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई शाक्य सहितको निर्वाचित टिमले बनभोज कार्यक्रम आयोजना गरेका हुन् । एमालेबाट निर्वाचित शाक्य वडा अध्यक्ष हुन् भने सदस्यहरुमा अनिल भैल, साजन मुस्याजु निर्वाचित भएका थिए । बनेपाका प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाल, पनौतीका प्रमुख भिमप्रसाद न्यौपाने र गिता बञ्जारा, पाँचखालका प्रमुख महेश खरेल र लक्ष्मी दनुवार, नमोबुद्धका प्रमुख टिपी शर्मा तिमल्सिना र रामदेवी तामाङ, मण्डन देउपुरका प्रमुख टोकबहादुर वाईवा र निर्मला शाही लगायतलाई प्रत्येक वडाबाट सम्मान र मतदाताहरुलाई धन्यवाद दिने क्रम जारी छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई पनि शुभचिन्तकहरुले धन्यवाद दिने क्रम शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्