चिलीले क्यामरुनलाई हरायो



 

लन्डन, (एजेन्सी)
रसियामा जारी फिफा कन्फेडेरेसन कप फुटबलमा दक्षिण अमेरिकी च्याम्पियन चिलीले अफ्रिकी च्याम्पियन क्यामरुनलाई पराजित गरेको छ।

प्रतियोगिताअन्तर्गत आइतबार राति कजान एरिनामा भएको समूह ‘बी’को पहिलो खेलमा चिलीले क्यामरुनलाई २–० गोलअन्तरले पराजित गरेको हो।

प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै टोलीले गोलका लागि थुप्रै अवसरहरू पाए पनि सदुपयोग गर्न नसकेपछि पहिलो हाफसम्म खेल गोलरहित बनेको थियो। दोस्रो हाफको अधिकांश समयमा पनि दुवै टोलीले कडा चुनौती प्रस्तुत गरे पनि सफलता भने चिलीले हात पार्यो। खेलको ८२औं मिनेटमा आर्टुरो भिडालले गोल गर्दै चिलीलाई शुरूआती अग्रता दिलाए। तर चिली यतिमा रोकिएन। खेलको अन्तिम मिनेटमा एडुआर्डो भार्गासले गोल गरेपछि चिलीले २–० को जित सुनिश्चित पारे। जितसँगै समूह ‘बी’को अंक तालिकामा चिलीले तीन महत्त्वपूर्ण अंक जोडेको छ। यसै समूहको अन्य टोलीमा जर्मनी र अस्ट्रेलिया पनि रहेका छन्।
यसअघि आइतबार नै भएको समूह ‘ए’को दोस्रो खेलमा पोर्चुगल र मेक्सिकोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। खेलमा दुई पटकसम्म अग्रता लिएर पनि क्रिस्टियानो रोनाल्डोसहितको पोर्चुगलले बराबरीको नतिजामा खेल टुंग्याउनुपरेका थियो। खेलको ३४औं मिनेटमा रिकार्डो करेज्माको गोलमार्फत पोर्चुगलले शुरूआती अग्रता लिएको थियो। तर जाभिएर हर्नान्डेजले पहिलो हाफ सकिन तीन मिनेट बाँकी छँदा बराबरी गोल फर्काए।

दोस्रो हाफमा पनि दुवै टोलीले गोलका लागि अवसरहरू सिर्जना गरेका थिए। दुवै टोली १–१ गोलको बराबरीतर्फ लम्केको उक्त खेलमा जेल्सन मार्टिन्सको पास सदुपयोग गर्दै सेड्रिक सोआरेसले गोल गरेपछि पोर्चुगलले पुनः खेलमा अग्रता लिएको थियो। उक्त गोलसँगै जितको नजिक पुगिसकेका पोर्चुगलले खेलको इन्ज्युरी समयमा झट्का बहोर्यो। खेलमा थपिएको इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रि किकबाट जुरेको क्रसमा हेडमार्फत गोल गर्दै हेक्टर मोरेनोले मेक्सिकोको हार टारे।

यसअघि खेलको पहिलो हाफमा पोर्चुगलका पेपेले गरेको गोललाई भिडियो रिप्लेको आधारमा एसिस्टेन्ट रेफ्रीले अफसाइड करार दिएका थिए। बराबरीसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन्। यसै समूहको पहिलो खेलमा आयोजक न्युजिल्यान्डलाई २–० ले पराजित गरेपछि स्पष्ट तीन अंकसहित रसिया समूहको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्