लन्डनमा मुस्लिम समूहमाथि भ्यान आक्रमण



 

लन्डन, (एजेन्सी)
बेलायतको राजधानी लन्डनको फिन्सब्युरी पार्कमा एकजना मानिसले मुस्लिम प्रार्थनाकर्ताहरूमाथि भ्यानले जानीजानी किच्दा एक व्यक्तिको ज्यान जानुका साथै अन्य आठ जनाभन्दा बढी घाइते हुन पुगेको प्रहरीले सोमबार जनाएको छ।

ती घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले यस घटनालाई आतंकवादसँग जोडेर हेरेको छ। उक्त भ्यान वेल्समा भाडामा लिइएको हुनुपर्ने अनुमान गरिएको छ।

प्रत्यक्षदर्शीहरूले आइतबार करिब मध्यरातमा एकजना वृद्धलाई मदत गरिरहेका बटुवामाथि भ्यान ठोकाइएको बताएका छन्। प्रहरीले यस घटनामा अन्य आशंकित व्यक्ति फेला नपरेको पनि जनाएको छ। घटनालगत्तै जनसमुदायले नै नियन्त्रणमा लिइएका ती पुरुषले चिच्याउँदै ‘म मुस्लिमहरूलाई मार्दै छु।’ भनेका थिए।

साथै उनले घाइतेहरूलाई हेर्दै तिनीहरू सो सजाय पाउन लायक भएको बताएको जनाइएको छ। बेलायती प्रधानमन्त्री थेरेसा मेले यस आक्रमणलाई घृणित कार्यको संज्ञा दिँदै हालै लन्डनमा र म्यानचेस्टरमा भएका आतंककारी घटनाको पनि भत्र्सना गरेकी छिन्।

प्रहरीले आफूहरू घटनास्थलमा पुग्नुअघि नै ती व्यक्तिलाई नियन्त्रणमा लिएर थप अप्रिय घटना हुन नदिने सर्वसाधारण व्यक्तिहरूको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ। सेभन सिस्टर्स रोडस्थित मुस्लिम वेलफेयर हाउसबाहिर भुइँमा पछारेर नियन्त्रणमा लिइनुअघि ती ४८ वर्षीय व्यक्तिले आफूले सम्पूर्ण मुस्लिमलाई मार्ने बताएका थिए।

अब्दुलरहमान सालेह अलामोदी नामक एक व्यक्तिले भ्यान चलाएर आक्रमण गर्नु अघिसम्म ती व्यक्ति पनि कमजारे भई ढलेका वृद्ध मुस्लिमहरूलाई सहयोग गर्ने समूहमै सम्मिलित रहेको बताएका छन्। अहिले मुस्लिमहरूको पवित्र एक महिने उपवास पर्व रमजान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्