निर्वाचनप्रति जनताको उत्साह



 

दोस्रो चरणको स्थानीय निकायको निर्वाचन के होला भन्ने कौतुहलता अब मेटिएको छ । निर्वाचन बहिस्कारको नारा दिएर आन्दोलनमा उत्रिएको राष्ट्रिय जनाता पार्टी नेपालले निर्वाचन विरोधी गतिविधि तीव्र बनाइरहेको बेला आइतबार मनोनयन दर्ता विनाअवरोध सम्पन्न भएको छ । सरकारले शान्ति सुरक्षा मजबुत बनाएको कारण निर्वाचन विरोधी समूहले अवरोध गर्न सकेनन् । जनताको भावना विपरीत निर्वाचन विरोधी गतिविधि गरिरहेको राजपालाई जनताले मनोनयनका बेला देखाएको उत्साहले एकपटक सोच्न बाध्य बनाएको छ ।

केही छिटफुट घटनाबाहेक मनोनयन शान्तिपूर्णरूपमा सम्पन्न भएकाले जनताले निर्वाचन चाहेको हुँदा केही दलको विरोधले फरक पर्दैन भन्ने उदाहरण यसले देखाएको छ । आफ्ना निहित स्वार्थमा अल्झिनुभन्दा जनताको चाहना के हो, त्यसको मनोभाव बुझ्नु मधेसी दलका लागि हितकर हुने देखिएको छ । सरकारले २ नम्बर प्रदेशमा निर्वाचन रोकेका बारेमा अहिले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत चासो व्यक्त गर्नु र जनता जसरी पनि चुनाव हुनुपर्ने पक्षमा देखिनुले राजपालाई समेत निर्वाचनमा सहभागी हुनुपर्ने दबाब बढेको देखिन्छ । जनताको चाहना अनुरूप राजनीतिक दलहरू अगाडि बढ्न सकेनन् भने उनीहरूलाई जनताले तिरस्कार मात्र गर्ने छैनन्, उनीहरूलाई सामाजिकरूपमा समेत बहिस्कार गर्न सक्छन् । त्यसतर्फ राजपा सतर्क हुनुको विकल्प पनि छैन । जनता नै महान् हुन्, त्यसैले जनचाहना अनुरूप राजीतिक दल चल्न सकेनन् भने उनीहरूको भविष्यसमेत संकटमा पर्ने निश्चित प्रायः छ ।

राजपाका केही नेताको व्यक्तिगत चाहनाका कारण मुलुकको विकास निर्माणलाई समेत प्रभावित गर्ने कार्य हुनु पक्कै पनि शुभ संकेत होइन । उनीहरूका कारण मुलुक नै संकटमा पर्ने स्थिति आउनु राम्रो कुरा होइन । देश रहे मात्र राजनीति रहन्छ । यसतर्फ मधेसी नेताको ध्यान जान जरुरी छ । सरकारबाट पनि मधेसी जनताले उठाएको जायज माग सम्बोधन हुनु जरुरी छ । जनताले जायज माग उठाउँदा पनि राज्य मुकदर्शक भएर बस्नु अर्को विडम्बना नै मान्नुपर्छ । राज्य भनेको जनताको अभिभावक हो । उसले जनताको अभिभावकत्व ग्रहण गर्न सकेन भने त्यो सफल राज्य हुन सक्दैन । त्यसतर्फ राज्य सञ्चालकहरूको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्