परिक्रमा सडकको निर्माण सुस्त गतिमा



लक्ष्मीकुमार साह, महोत्तरी
मटिहानी जलेश्वर सडक निर्माण सुस्त गतिमा काम भइरहेको छ। प्याकेज नम्बर १७ अन्तर्गत जलेश्वर, मटिहानी, धनुषाको तुलसीयाही बेलासम्मको ११ दशमलव ४८ किलोमिटर, जनकपुरको मिल्स एरियादेखि धनुषाको बेंगासम्मको ३ किलोमीटर र हनुमाननगरदेखि रामपुर बौहरवासम्मको ९ दशमलव ५ किलोमिटरसहितको २३ दशमलव ४८ किलोमिटर सडक निर्माण गर्ने ठेक्का एएमआर पप्पु जेभीले निर्माणाधीन सडकको दायाँ र बायाँको माटो खनेर पटान गरेको हो। सडकमा पटानका लागि बाहिरबाट माटो ल्याउनुपर्ने सम्झौतामा उल्लेख भए पनि निर्माण कम्पनीले आफूखुसी खाडल बनाउँदै काम गरिरहेको हो। परिक्रममा सडक भनेर चिनिने मटिहानी जलेश्वर सडक खण्ड मापदण्ड विपरीत माटो पटान गरे पनि परिक्रमा सडक आयोजनाले भने खासै चासो नदेखाएको स्थानीयले बताएका छन्।

सडकको दुवैतर्फ खाडल तथा सडकमा हिलाम्य भएपछि वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ भएको छ। सडकमा यत्रतत्र भएको खाल्डाखुल्डी र जमेको पानीले दुर्घटनाको जोखिम बढेको छ। यहाँको व्यस्त सडकमा गाडीको चाप अत्यधिक रहेको र वर्षापछि हिलाम्मे हुँदा मानिस, साइकल, रिक्सा, मोटरसाइकललगायत सबै बीच सडकमा नै हिँड्ने गरेकाले दुर्घटनाको जोखिम उत्तिकै बढेको छ।

आयोजना अनुगमन गर्ने शाखा कार्यालय जनकपुरका प्रमुख इन्जिनियर सुरेन्द्र झाका अनुसार निर्माण व्यवसायीले सडक वरिपरिबाट माटो खनेर पटान गर्न नमिल्ने बताए। सम्झौताअनुसार कम्पनीले बाहिरबाट माटो ल्याएर फिलिङ गर्नुपर्छ। सडक रेखदेखको जिम्मा पाएका प्राविधिकले रोकथाम नगर्दा कम्पनीसँग मिलेमतो भएको शंका स्थानीयको छ। माटो बाहिरबाट ल्याएर पटान गर्दा कम्तीमा ५० लाख खर्च हुने प्राविधिकले बताए।

धार्मिक पर्यटन कृषि र उद्योग व्यापारको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित भारतको इकजिव बैंकको ऋण सहयोगमा भारत सरकारले १ अर्ब ५० करोड २९ लाख २८ हजार ७ सय २८ रुपियाँको लागतमा ९९ दशमलव ३७ किलोमिटर लामो परिक्रमा सडकको निर्माण थालिएको थियो तर निर्माण जिम्मा लिएका ५ ठेकेदार कम्पनीले काम सुस्त गतिमा गरिरहेका छन्।

५ ठेकेदार कम्पनी मध्ये जलेश्वर, मटिहानी, धनुषाको तुलसीयाही बेला, जनकपुरको मिल्स एरियादेखि धनुषाको बेंगा र हनुमाननगरदेखि रामपुर बौहरवास, सडक निर्माण गर्ने ठेक्का एएमआर पप्पु जेभीले पाए पनि १४ प्रतिशत मात्र काम भएको छ। यसको लागत १९ करोड छ। नेपाल भारतबीच धार्मिक तथा सांस्कृतिक सेतुका रूपमा रहेको परिक्रमा सडकखण्डको स्तरोन्नति पछिल्लो तीन वर्षमा १४ प्रतिशत मात्रै भएको छ।

प्रतिक्रिया दिनुहोस्