यती कार्पेटमा भीषण आगलागी, डेढ अर्बको क्षति



?

 

पुष्कर बुढाथोकी, भक्तपुर,

नेपालकै सबैभन्दा ठूलो कार्पेट उद्योगमध्ये पर्ने यती कार्पेट इन्डस्ट्रिजमा शनिबार मध्यराति लागेको भीषण आगलागीबाट डेढ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ। भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित उद्योगमा राती साढे ११ बजेदेखि शुरू भएको आगलागी ८ घण्टापछि नियन्त्रणमा आएको थियो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईका अनुसार भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडौं र ललितपुरका आठ वटा दमकलले आठ घन्टापछि आइतबार विहानमात्रै आगो नियन्त्रणमा लिन सफल भएका थिए। आगो नियन्त्रण गर्नका लागि केही निजी ट्यांकरहरूबाट समेत पानी आपूर्ति गरिएको थियो।

उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवका अनुसार आगलागीबाट १ अर्ब ५० करोड रुपियाँभन्दा बढीको क्षति भएको छ। उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा विद्युत्को ट्रान्सफर्मर पड्किएर आगो लागेको अनुमान प्रहरीले गरेको छ। आगलागीबाट तयारी कार्पेट, कार्पेट निर्माण गर्ने कच्चा पदार्थलगायत उद्योगकै दुई वटा सवारी साधन र पक्की भवन, पाँच वटँ टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन पनि जलेर नष्ट भएको छ।

१ सय जना मजदुर कार्यरत उद्योगमा राति ३५ जना कार्यरत भए पनि घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। उद्योगसँगै रहेको सडकको ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी शुरू भएको थियो। आगो एकैपटक ह्वात्तै लागेका कारण कुनै पनि सामान निकाल्न नसकिएको उद्योगमा कार्यरत मजदुरहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्