मनोनयन दर्ता उत्साहपूर्ण



दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

सुनील महर्जन, काठमाडौं
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३५ स्थानीय तहको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गरिएको छ।

विप्लव माओवादीको उम्मेदवारको बहिष्कार र राष्ट्रिय जनता पार्टीको बन्दका बीच उम्मेदवार मनोनयन दर्ता भएको हो। उम्मेदवारहरूले बिहान ८ देखि ४ बजेसम्म जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका थिए। मनोनयन दर्तासँगै यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि औपचारिक प्रक्रिया शुरू भएको छ। दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

निर्वाचन आयोगले मनोनयन दर्ता कार्यलाई शान्तिपूर्ण र अवरोधरहित बनाउन आग्रह गरे पनि दोस्रो चरणको निर्वाचन सक्रिय बहिष्कार गर्ने उद्घोषसहित तराई–मधेसका विभिन्न जिल्लामा बन्दको आह्वान गरिएको थियो। यस क्रममा तराई मधेसका केही जिल्लामा अवरोध, धरपकडसँगै राजनीतिक दलका कार्यकर्ताबीच झडप, आगजनी भएको छ। त्यस्तै कपिलवस्तुको निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोटनमा परी एक दर्जन घाइते भएका छन्। यद्यपि त्यसले मनोनयन दर्तामा प्रत्यक्ष अवरोध नपारेको निर्वाचन आयोगको भनाइ रहेको छ।

उम्मेदवार दर्ता गराउने कार्य उत्साहजनक रूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रलाई बताउनुभयो। ‘उम्मेदवार मनोनयनमा उत्साह र रौनकता देखिएको खबर प्राप्त भएको छ। यसले दोस्रो चरणको निर्वाचन पनि उत्साहजनक रूपमा सम्पन्न हुने अनुभुत गराएको छ’ –उहाँले भन्नुभयो।

दोस्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुनेछ। यसका लागि ४ हजार ५ सय ८१ मतदानस्थल र ८ हजार ३ सय ६४ मतदानकेन्द्र कायम गरिएको छ।
सो निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन्।

राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख⁄उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष⁄उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानको कार्यान्वयन उत्साहपूर्वक रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको थियो। विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्दै उम्मेदवारको विरोधमा उजुरी दिने दिन आज सोमबार तोकिएको छ। आयोगले ६ गते नाम फिर्ताको समय दिने जनाएको छ। त्यस्तै ७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने आयोगको तयारी रहेको छ।

कांग्रेस–एमाले झडपमा १ को मृत्यु

दयाराम पण्डित, बाजुरा
निर्वाचनको उम्मेदवारी दर्ता गराउने क्रममा सत्तारूढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एमालेका एक कार्यकर्ताको मृत्यु भएको छ। साविकको डोगडी गाविसका एमाले कार्यकर्ता ५५ वर्षीय हंस रावतको मृत्यु भएको हो। उनलाई उपचारार्थ मार्तडी सिफारिस गरिएकोमा उनको मृत्यु भएको हो। एमालेले आइतबार नै एक वक्तव्य जारी गरी सो घटनाको भत्र्सना गरेको छ।

बाजुराको छेडेदह गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच आइतबार झडप भएको थियो। साँदेगाउँमा भएको झडपमा परी दुवैतर्फका ३४ जना घाइते भएको प्रहरीले जनाएको छ। अन्य ७ जनाको डोगडी स्वास्थ्य चौकीमा उपचार भइरहेको डोगडीबाट देवेन्द्र नाथले जानकारी दिएका छन्।

गुदुखातीबाट डोगडी निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन गएका कांग्रेस कार्यकतालाई निर्वाचन कार्यालय नजिकै टेन्ट टांसेर बसेका एमाले कार्यकर्ताले बाटोमा अवरोध गरेपछि झडप भएको कांग्रेसले दाबी गरेको छ। एमालेले भने आफ्नो दललाई उम्मेदवारी दर्ता गर्न नदिन कांग्रेसले षड्यन्त्र गरेपछि झडप भएको दाबी गरेको छ। परिस्थिति सामान्य बन्दै गएपछि नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराएको थियो।

बैजनाथमा गोली चल्यो

बाँके, (नेस)
बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादीका कार्यकर्ताका बीचमा झडप भएपछि प्रहरीले गोली चलाएको छ।दलबलसहित उम्मेदवारी दर्ता गर्न जाने क्रममा एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। झडपलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो। बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईका अनुसार घटनालाई सामान्य गर्न प्रहरीले सात राउन्ड अश्रुग्यास र १२ राउन्ड हवाई फायर गरेको थियो।

बैजनाथमा एमालेले आइतबार जनगायक बद्री पंगेनीको उपस्थितिमा कार्यक्रम गरेको थियो। निर्वाचन अधिकृतको कार्यालय नजिकै आयोजित उक्त कार्यक्रमलाई प्रभाव पर्ने गरी माओवादी कार्यकर्ताहरू डिजेसहित मनोनयन दर्ता गर्न आएपछि विवाद भएको थियो। विवादपछिको झडपमा दुवैतिर गरी पाँच जना कार्यकर्ता र दुई जना प्रहरी सामान्य घाइते भएका छन्।

घटनालाई नियन्त्रणमा लिनका लागि तत्कालै त्यहाँ थप प्रहरी पठाइएको थियो। एसपी राईकाअनुसार, बैजनाथमा शुरुमा ८० जना प्रहरी तैनाथ थिए। विवाद भएपछि थप २ सय १८ जना प्रहरी त्यहाँ पठाइएको थियो। ८४ जना सशस्त्र प्रहरी छन्। ठूलो संख्यामा प्रहरीको उपस्थितिले घटनालाई सामान्य बनाएको स्थानीय नेताहरूले बताए।

बाँकेको अरु ठाउँमा भने कुनै प्रकारको अप्रिय घटना भएनन्। शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ। बाँकेमा आठ तह छन्। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन्। पार्टीहरूले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गरेका हुन्। बाजागाजा र नाराबाजीसँगै उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। पार्टीहरुले सकेसम्म आफ्नो उपस्थिति बढी देखाउन तयारीका साथ कार्यकर्ताहरु जम्मा पारेका थिए।

प्रतिक्रिया दिनुहोस्