सरकारलाई दुई विकल्प



 

सरकारले प्रदेश २ को निर्वाचन असोज २ गतेका लागि सारेको भए पनि राष्ट्रिय जनता पार्टीले आफ्नो आन्दोलनको कार्यक्रम जारी रहने जनाएको छ । यो अवस्थाले गर्दा निर्वाचन सार्नुको कुनै पनि औचित्य नदेखिने प्रस्ट भएको छ । निर्वाचनका लागि सबै तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा सरकारका तर्फबाट राजपा पनि निर्वाचनमा आउने भएकाले निर्वाचन सारिएको जनाइएको थियो । तर निर्वाचन सारेको भोलिपल्ट नै राजपाले निर्वाचनमा भाग नलिने मात्रै बताएन थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

यो अवस्थामा सरकारका तर्फबाट २ नम्बर प्रदेशमा पनि असार १४ गते नै निर्वाचन गर्नु उपयुक्त हुने अवस्था देखिएको छ । किनकि राजपाले नमान्नासाथै निर्वाचन सार्नुको औचित्य नै सकिएको छ । मधेसको महत्त्वपूर्ण शक्तिका रूपमा रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम हो । त्यसपछि विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमको प्रभाव पनि तराईमा केही न केही रहेको छ । उपेन्द्रको कुरा गर्दा मधेसी जनतालाई सबैभन्दा बढी सशक्त बनाउने कार्य र अधिकारतर्फ उन्मुख गराउनका लागि उनको नेतृत्वको फोरमले नै भूमिका खेलेको थियो । अहिले उपेन्द्र र विजय दुवैका पार्टीहरू निर्वाचनमा जानका लागि कमर कसेर लागेको अवस्था रहेको छ । अर्कातर्फ सरकारकै निकाय गृह मन्त्रालयले पनि निर्वाचन सहज ढंगले हुन सक्ने बताउँदै आएको थियो ।

यो अवस्थामा सरकारले एकाएक निर्वाचन सार्नु सबैलाई आश्चर्यको कुरा भएको छ । किनकि निर्वाचन सहज ढंगले हुन सक्ने अवस्था थियो र सबै दलहरू निर्वाचनमा जानका लागि लालायीत मात्रै होइन राजपाका कार्यकर्ता नै आफूलाई टिकट दिनका लागि अन्य दलका नेताहरूसँग अनुनय विनय गर्न थालिसकेको अवस्था रहेको थियो । यस हिसाबले हेर्दा राजपाका नेताहरू आन्तरिक र बाह्य रूपमा पनि निर्वाचनका लागि निकै ठूलो दबाबमा थिए । कुनै पनि लोकतान्त्रिक व्यवस्थामा जनताको फैसला सुन्ने आँट हुनुपर्दछ । तर, जनतालाई मतअधिकार नै प्रयोग गर्न नदिन ढिपी गर्ने राजपाको शैलीबाट मधेसी जनता समेत आक्रान्त भएको देखिएको छ । यो अवस्थामा सरकारले अभिभावकीय भूमिका खेल्नुपर्नेमा सरकार गलत शैलीलाई नै मलजल गर्न उद्दत रहेको पाइएको छ । सरकारले हठात्मा निर्वाचन आयोगको समेत सहमती नलिइकन गरेको यो निर्णय आफैंमा खेदजनक छ । सरकारको यो गलत कदमले विखण्डनकारीलाई खुसी पार्ने काम गरेको छ । सरकारले जुन सदासयता देखाएर निर्वाचन सारेको बताउँदै आएको छ त्यो सदासयता २४ घण्टा पनि नटिकेको कुराले पनि सरकारको कदम कति कमजोर रहेछ भन्ने प्रस्ट नै भएको छ । त्यसैले यो सरकारको स्थापना नै निर्वाचन सार्नका लागि त थिएन भन्ने प्रश्नसमेत उब्जेको छ ।

हुन त, यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकै चरणमा गर्नुपर्ने निर्वाचन दुई चरणमा सारेर यसअघि नै गल्ती गरिसकेका छन् । त्यो गल्तीमा अहिलेको सरकारले महागल्ती गरेको छ । अहिले संविधान संशोधन हुने भन्ने कुरा सरकार वा सत्तारूढ दलहरूको हातमा मात्रै छैन । त्यसमा विपक्षीको पनि समर्थन चाहिन्छ । विपक्षीले संशोधनलाई विखण्डकारी योजना बताइरहेको बेलामा राजपा निर्वाचनमा गएर आफ्ना एजेन्डा स्थापित गरेको भए हुन्थ्यो । त्यो नगरेको अवस्थामा राज्य आफ्ना नियमित कार्यमा हिँड्नुको कुनै विकल्प थिएन र छैन ।

त्यसैले राजपाले आन्दोलन कार्यक्रम स्थगित नगरेको अवस्थामा सरकारले प्रदेश २ मा पनि असार १४ मै निर्वाचन गर्नुभन्दा अर्को राम्रो विकल्प हुन सक्दैन । २ नम्बर प्रदेशका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको तिथि केही दिनपछि उपलब्ध गराएर निर्वाचन गराउने हो भने खासै अप्ठेरो पर्ने छैन । अर्को विकल्प भनेको असोज २ कै लागि प्रदेश र केन्द्रीय निर्वाचन पनि गर्ने हो भने जनतामा जागेको आक्रोश मत्थर हुन सक्ने अवस्था छ । त्यसले थोरै भए पनि आशा जगाउँछ । त्यो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि लाग्न लागेको अक्षमको आरोप स्वतः निस्क्रिय हुने अवस्था आउँछ ।

हुन त निर्वाचन आयोगलाई तीनै थरी निर्वाचन एकैपटक गर्न अप्ठेरो होला तर चाहने हो भने नसकिने भन्ने कुनै कुरा हुँदैन । असोजभित्रैमा निर्वाचन नहुने हो भने संविधानअनुसार तोकिएको माघ ७ को डेडलाइन पूरा गर्न सकिने छैन र फेरि संसद्को आयु लम्ब्याउने चलखेल हुन सक्नेछ । नलम्ब्याऔं मुलुक सुरुङमा छिर्ने अवस्था आउनेछ भने लम्ब्याऔं त्यसबाट जग हाँस्ने अवस्था आउन सक्छ । त्यसैले अहिलेका दुई उपयुक्त विकल्प भनेको असार १४ मै सबै स्थानीय तहको निर्वाचन सक्नु र त्यसलगत्तै प्रदेश तथा केन्द्रीय निर्वाचन गर्नु हो । दोस्रो विकल्प भनेको प्रदेश २ को मिति सार्नै नमिल्ने हो भने पनि सोही दिन मुलुकभरि नै प्रदेश र केन्द्रीय निर्वाचन पनि गरिनुपर्दछ । यति गरिएमा जनताको मनोबल केही उठ्नेछ र सरकार स्वयम्को छवि सुधार्न पनि यसले मद्दत गर्नेछ । सधैंभरि निर्वाचनको रडाको लिएर हिँड्न थालियो भने जनता र देशको काम चाहिँ कहिले गर्ने ? त्यसैले सरकारले ढिलो नहुँदै तत्काल सोचोस् ।

प्रतिक्रिया दिनुहोस्