अधिक वजनको कारण ४० लाखको मृत्यु



 

लन्डन, (एजेन्सी)
अधिक वजनसंग सम्बन्धित रोगको कारण मर्ने खतराका लागि कुनै पनि व्यक्ति मोटो भएको पहिचानै हुनु जरुरत नभएको स्वास्थसम्बन्धी एक विश्वव्यापि अध्ययनले देखाएको छ। सन् २०१५ मा विश्वमा अधिक वजनका कारणले ४० लाख व्यक्तिको ज्यान गएको थियो।

तिनीहरूमध्ये ४० प्रतिशत चिकित्सकीय आधारमा मोटो व्यक्ति मानिएका थिएनन्। हालै गरिएको यस अध्ययनअनुसार विश्वका २ अर्बभन्दा बढी बालबालिका र वयस्क व्यक्तिहरूले अधिक वजनसंग सम्बन्धित स्वास्थ्य समस्याहरू भोगिरहेका छन्। तिनीहरूमा टाइप– २ डायबिटिज, मुटु रोग र केही क्यान्सर पर्दछन्।

न्यु इंल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित यस अध्ययनको प्रतिवेदन विश्वमा बढ्दो डरलाग्दो जनस्वास्थ समस्यालाई उजागर गरेको छ। युनिभर्सिटी अफ वासिंगटनको इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स इभ्यालुएनका निर्देशक तथा यस अध्ययनका लेखक डा.क्रिस्टोफर मुर्रेले अधिक वजनप्रति वेवास्ता गर्ने मानिसहरूले आफैंले मुटुका रोग, मधुमेह, क्यान्सर र अन्य ज्यानलाई खतरा पुर्याउन सक्ने रोगहरू निम्त्याइरहेको हुने बताएका छन्।

यस समस्याप्रति अर्ध गम्भीर व्यक्तिहरूले नयाँ वर्षमा शारीरिक वजन घटाउने कसम खाएर मात्र नहुने बरु त्यो कसम पूरा गर्न तिनीहरूले वर्षभरि नै मिहेनत गर्नुपर्ने पनि डा. मुर्रेले बताएका छन्।

सन् १९८० देखि २०१५ सम्म अर्थात ३५ वर्ष लगाएर १ सय ९५ वटा राष्ट्रमा गरिएको यस अध्ययनले विश्वका जनसंख्याको ३० प्रतिशत अर्थात २ अर्ब २० करोड बालबालिका तथा वयस्कहरू अधिक वजनबाट प्रभावित रहेको जनाएको छ। यसमा शरीर पिन्ड सूची (बीएमआई) ३० भन्दा बढी रहेर चिकित्सकीय परिभाषामा मोटेको दर्जा पाएका झण्डै १० करोड ८० लाख बालबालिका र ६० करोडभन्दा वयस्क पनि यही खतरनाक सूचीमा पर्दछन्।

सन् १९८० देखि विश्वभरि नै मोटोपना बढ्न थालेको हो। अझ ७० वटा भन्दा बढी राष्ट्रमा अधिक वजन भएका व्यक्तिको संख्या दोब्बर भएको छ। संयुक्त राज्य अमेरिकामा भने कुल जनसंख्याको झण्डै १३ प्रतिशत वयस्क तथा बालबालिकामा अधिक वजनको स्तर सबैभन्दा बढी रहेको छ। सबैभन्दा बढी मोटा वयस्क व्यक्तिहरू हुने मुलुकमा इजिप्ट रहेको छ।

प्रतिक्रिया दिनुहोस्