माछासँगै पर्यटन व्यवसाय



नेपाल समाचारपत्रनेपाल समाचारपत्रलमजुङ कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनिसकेको लमजुङ अब माछामा पनि आत्मनिर्भर हुने तयारीमा जुटेको छ। रागिनास नगरपालिकाका पाँच जना युवाले संयुक्त रूपमा माछापालन व्यवसाय शुरू गरेसँगै जिल्ला माछाको मासुमा आत्मनिर्भर हुने भएको हो।
पौडेल एग्रो फार्मका नाममा स्थापित माछा व्यवसायका निम्ति २०६९ सालमा जग्गा खरिद गरेर चरणबद्ध रूपमा काम भइरहेको फर्ममा पाँच करोडभन्दा बढी लगानी भइसकेको फार्मका सञ्चालक नवराज पौडेलले बताउनुभयो। उहाँका अनुसार विश्व बैंकको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले देशभरबाट छानेका व्यावसायिक कृषि फर्ममध्येमा समेटिएको यो फर्मले सो आयोजनाबाट सहयोग स्वरूप झण्डै ३० लाख रुपियाँ अनुदान पाएको थियो।
परम्परागत रूपमा हुँदै आएको धानखेती मासेर यहाँको २ सय ३५ रोपनी क्षेत्रफलमा ‘कम्पाउन्डिङ’ गरिएको छ। तालको झल्को दिने ठूला–ठूला माछापोखरी निर्माण गरिएको छ। माछा पोखरीको माथिल्लो भागमा खरले बनाइएका ‘कटेज’ हरू लस्करै छन्। १ सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको माछा पोखरी छ। उक्त कार्य लमजुङको ऐतिहासिक रागिनासकोट र गोरखाको लिगलिगकोटको फेदीमा नागबेली आकारमा बगेको चेपे नदीले रागिनासटारलाई उपत्यकाकै ‘आकार’ बनाइदिएको छ। त्यही उपत्यकामा अर्थात रागिनास–६, कैनीटारमा स्थानीय नवराज पौडेल, लक्ष्मी पौडेल र हरेराम पौडेलले अघि बढाएको कृषि र पर्यटनको अवधारणाले पर्यटनको सम्भावना झनै उजागर भएको छ। त्यहाँ अहिले पर्यटकको लोभ्याउने खालको संरचनाहरू धमाधम निर्माण भइरहेका छन्।
रागिनास नगरपालिका– ६ स्थित कैनीटारमा शुरू गरिएको ‘पौडेल एग्रो फार्म’ मा हाल ७० लाख माछा पालिएको छ। वार्षिक ५ टन उत्पादन गर्ने लक्ष्यका साथ शुरू गरिएको यस फर्मलाई थप दुई हेक्टर क्षेत्रमा विस्तार गर्ने योजना बनाइएको सञ्चालक हरेराम पौडेलले जानकारी दिनुभयो।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा वार्षिक ४ टन माछाको माग छ। पौडेल माछा फर्म सञ्चालनमा आएसँगै जिल्लाको कुल माछा उत्पादन क्षमता ८ टन हुनेछ। हालसम्म जिल्लामा वार्षिक ३ टन माछा उत्पादन हँुदै आएकोमा पौडेल कृषि फर्मबाट थप ५ टन माछा उत्पादन भएपछि जिल्ला माछामा आत्मनिर्भर हुने भएको हो।
पौडेल एग्रो फर्ममा माछासँगै ६० रोपनी क्षेत्रफलमा केरा खेती, ४० रोपनी क्षेत्रफलमा तरकारी खेती सञ्चालनमा ल्याइएको छ। कृषि र पर्यटनसँगै अन्य व्यावसायिक क्रियाकलाप सञ्चालन गर्ने योजना अनुसार पूर्वाधार निर्माण भईरहेका छन्।
केरा, माछापालन गरेर बाँकी रहेको ४० रोपनी क्षेत्रफलमा तरकारी खेतीका लागि छुट्याएको छ। यो जग्गामा चाँडै नै मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने सञ्चालकको तयारी छ।
रागिनासटारको यो फार्मसँगै जिल्लाका सुन्दरबजार, तार्कुघाट, धमिलिकुवा, ताघ्रिङ, भोटेवडार, रम्घा, सोतीपसल, भोर्लेटार लगायतका स्थानमा व्यावसायिक माछापालन हुँदै आएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। यसैले पनि जिल्ला अब माछामा आत्मनिर्भर हुने जिल्ला पशु सेवा कार्यालयका चिकित्सक नारायण कुसुमले बताउनुभयो।
कृषिलाई पर्यटनसँग जोडेर गरिएको अभ्यासलाई पर्यटकले निकै मन पराएका छन्। दैनिक  सय जनाभन्दा बढी उक्त फर्मको अवलोकन गर्न आउने सञ्चालक पौडेलको भनाइ छ। उहाँका अुनसार पूर्वाधार बन्दै आन्तरिक पर्यटकको चाप मनग्य हुन थालेको छ।
सञ्चालक पौडेललका अनुसार केही महिनामै होमस्टे सञ्चालन गर्न योजना छ। त्यससँगै माछा पोखरीमा ‘बोटिङ’ गराउने तथा पर्यटकले चाहेमा ‘फिस हन्टिङ’ को व्यवस्थासमेत मिलाउने सोच रहेको छ। कृषिसँगै शुरू भएको पर्यटनको अवधारणाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील व्यक्ति झनै उत्साहित भएका छन्। रागिनासकोटका लागि यो फार्म पर्यटनको अर्को आकर्षण हो, लमजुङको पर्यटनका अभियन्ता कृष्णराज ओलिया भन्नुभयो। उहाँका अनुसार यो ठाउँलाई प्रस्तावित रागिनासकोट चेपेनदी र लिगलिगकोट पदयात्राको ‘बेसक्याम्प’ का रूपमा विकसित गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्