जनप्रतिनिधिलाई कानुन बुझाउँदै अदालत



मोतीराम तिमल्सिना,काभ्रे ।

संविधानले स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरुको कार्यक्षेत्र तोकेको छ तर स्थानीय तह सम्वन्धी ऐन र कानुन निर्माण गरिसकेको छैन । स्थानीय तहको पहिलो चारण्को निर्वाचन सम्पन्न भएको छ तर अधिकार प्रत्यायोजन गरिएको छैन ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु अन्योलमा रहेकै बेला जिल्ला अदालत काभ्रेपलाञ्चोकले भने पहिलो पटक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई न्याय र कानुनका बारेमा अभिमुखिकरण गराएको छ ।

विशेषगरी संविधानले ब्यवस्था गरेको उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा गठन हुने तीन सदस्यीय न्यायीक समितिका काम कर्तब्य र अधिकार क्षेत्र तथा जिल्ला अदालतसँगको सम्वन्धका बारेमा जानकारी गराएको हो ।

रोशी गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौड्यालले जनप्रतिनिधिहरुले बुझ्नु पर्ने न्याय र कानुनका बारेमा जानकारी गराउँदै उपाध्यक्षको संयोजकत्वमा गठन हुने समितिले गर्ने कामका बारेमा जानकारी दिएका थिए ।

उपाध्यक्षको संयोजकत्वमा गठन हुने समितिले देवानी प्रकृतिका सबै खाले विवादहरुको निरुपण गर्न तीन सदस्यी समितिमा छलफल गराउने, पहिलो प्राथमिकता मेलमिलापलाई दिने, मेलमिलाप हुन नसके सर्वसम्वत निर्णय गर्ने, त्यसो हुन नसकेको अवस्थामा बहुमतका आधारमा निर्णय गर्ने, निवेदन परेको ३५ दिन भित्र निर्णय गरिसक्नु पर्ने, निर्णय गरेको ३५ दिन भित्र सरोकार पक्षहरुलाई निर्णयका बारेमा जानकारी गराईसक्नु पर्ने, समितिका सदस्यहरुसँग स्वार्थ बाझिएका विषयमा निर्णय गर्न नपाईने, त्यस्तो अवस्थामा गाउँकार्यपालिका र नगरकार्यपालिकाले छुट्टै समिति गठन गर्न सक्ने अधिकार भएको जिल्ला न्यायाधीबक्ता तिलकबहादुर कार्कीले बताए ।

न्यायीक समितिको निर्णय उपर चित्त नबुझे जिल्ला अदालतमा ३५ दिन भित्र पुनरावेदनका लागि उजुरी दिन सक्ने ब्यवस्था ऐनले गरेको जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौड्यालले जानकारी दिए ।

न्यायमा बाह्य पहुँच बढाउन, अदालतमा मुद्दाको चाप कम गरी तत्काल न्याय प्रदान गर्न देवानी प्रकृतिका सबै खाले मुद्दाहरु स्थानीय तहमै निर्णय गर्न सक्ने अधिकार प्राप्त न्यायीक समिति गठन भएको न्यायाधीश अवनी मैनाली भट्टराईले जानकारी दिईन् ।

एशिया फाउण्डेशनले सहयोग गरेको उक्त कार्यक्रममा रोशी गाउँपालिकाका निर्वाचन अधिकृत गणेश आचार्य, कार्यकारी अधिकृत डम्मरु दाहाल, अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारी, सह न्यायाधीबक्ता राजन हमाल, नेपाल बार इकाईका अध्यक्ष कृष्ण सापकोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, सदस्य सरिता सापकोटा, रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा, उपाध्यक्ष लक्ष्मी उपे्रती बर्ताैला, अदालतका मेलमिलापका फोकल पर्सन पुष्पराज जोशी लगायतले न्यायीक समितिले गर्ने काम र न्यायको पहुँचका बारेमा जानकारी गराएका थिए ।

क्याप्सनः रोशी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई न्यायीक समितिका बारेमा जानकारी गराउँदै जिल्ला अदालतका न्यायाधीशहरु । तस्विरः मोतीराम तिमल्सिना÷काभ्रे

 

प्रतिक्रिया दिनुहोस्