बीमा नगरी संसद्का गाडी



 

४ महिनापछि बल्ल सल्टियो समस्या

दीपक रिजाल, काठमाडौं
मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद् सचिवालयले ४ महिनासम्म आफूले प्रयोग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ।

सभामुख, पूर्वसभामुखदेखि संसद्को विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको ४ महिनासम्म बीमा नगरी सवारी साधन चलाएको भन्दै संसद् सचिवालयका चालकहरूले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया शुरु गरेको छ।

संसद् सचिवालयअन्तर्गत रहेका ९६ वटा सवारी साधन र ६६ वटा मोटर साइकलको बीमा नै नगरी सवारी गुडेको पत्ता लागेपछि सवारी चालकहरूले त्यसको चर्को विरोध गरेर सवारी नचलाउने धम्की दिएका कारण सचिवालयले ती सबै सवारी साधनको बीमा गराएको थियो।

गत जेठ ३० गते संसद् सचिवालयका सचिव हेमलाल सुवेदी चढ्ने सवारी साधनले शंकरदेव क्याम्पसअगाडि एक पैदल यात्रुलाई ठक्कर दिएपछि संसद् सचिवालयका कुनै पनि सवारी साधनको बीमा ४ महिनादेखि हुन नसकेको पोल खुलेको थियो।

सचिवालयले हतार हतारमा घाइतेको उपचार सचिवालयले गरिदिने भन्दै कागज गरेर उक्त घटनालाई गोप्य राख्न खोजेपछि चालकहरूले विरोध गरेका थिए।

हाल बीएण्डबी अस्पतालमा उपचार गराइरहेका ती घाइतेको सबै उपचार खर्च सचिवालयले बेहोर्दै आएको छ। संसद् सचिवालयको प्राविधिक शाखाले समयमा नै गर्नुपर्ने बीमा नगरी सवारी चालकलाई जानकारी नै नदिई गुपचुपरूपमा सवारी चलाउँदै आएको थियो।

गत मार्च १६मा संसद् सचिवालयका सबै सवारी साधनको बीमा सकिएपछि बीमा गर्नुपर्ने बारेमा समेत सो शाखाले माथिल्लो निकायलाई जानकारी नगराएका कारण समस्या आएको एक सवारी चालकले नेपाल समाचारपत्रलाई जानकारी दिए।

यस विषयमा संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमसँग सम्पर्क राख्दा सचिवालयको त्रुटीका कारण त्यस्तो भएको र अहिले बीमाको सबै प्रक्रिया पूरा भएको जानकारी दिनुभयो।
उहाँले अहिले सबै सवारी साधनको राष्ट्रिय बीमा संस्थानमार्फत बीमा गर्ने काम भएको जानकारी दिनुभयो।

चालकहरूले बीमा नभएको सवारी साधन नचलाउने अडान लिएपछि बुधबार मात्रै सचिवालयले एकमुष्ट रूपमा बीमा गर्नुपर्ने रकमको चेक बीमा संस्थानलाई बुझाएको थियो।
संसद् सचिवालयको प्राविधिक शाखाका प्रमुख नेत्रबहादुर कार्कीको लापरबाहीका कारण ४–४ महिनासम्म कुनै पनि सवारी साधनको बीमा हुन नसकेको आरोप चालकहरूले लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्