हावाहुरीले करोडौँको केराखेती नष्ट



 

रत्ननगर (चितवन), ३१ जेठ । चितवनमा आज बिहान आएको हावाहुरीका कारण करोडौँको केराखेती नष्ट भएको छ ।

बिहान करिब ४ बजेतिर भारी वर्षासहित आएको हावाहुरीले केरा ढलाएर नष्ट गरेको चितवन केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिनुुभयो ।

किसानको प्रारम्भिक जानकारीअनुसार करिब रु चार÷पाँच करोडको केरा नष्ट गरेको अनुमान गरिए पनि विस्तृत विवरण भने आइसकेको छैन । पन्तले आफ्नो केरा बगानको १० बिगाहा क्षेत्रको केरा पूर्ण नष्ट भएको बताउनुुभयो ।

यस्तै सङ्घका निवर्तमान अध्यक्ष यज्ञ सुुवेदीले चैनपुरमा लगाएको करिब २० बिगाहाको केरा क्षति भएको बताउनुुभयो । हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुुगेको छ ।
पछिल्ला केही वर्षदेखि बिमा कार्यक्रम सुरु भएकाले किसानले केही राहत पाउँदै आएका छन् । चितवन केरा उत्पादक सङ्घका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती भएकामा यो वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको हो ।

जिल्लामा वार्षिक रु एक अर्बको केराको कारोबार हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा कृषि बिमा भने सोचेअनुसार हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्