मधेसमैत्री संविधान नहुन्जेल चुनावमा नजाने – अध्यक्ष झा



गौशाला, १ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका एक अध्यक्ष अनिल झाले नेपालको संविधान मधेसमैत्री नहुन्जेलसम्म राजपा नेपाल स्थानीय चुनावमा नजाने बताउनुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बुधबार साँझ पत्रकारसम्मेलन गर्नुहुँदै अध्यक्ष झाले सरकार तथा सत्तापक्षले संविधान संशोधन गरेर मधेस र मधेसीलाई उनीहरुको हकअधिकारको ग्यारेन्टी नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने बताउनुभयो ।

उहाँले सरकारले मधेसको एजेन्डा सम्बोधन गरेर जनसङ्ख्याका आधारमा गाउँपालिका, जनप्रतिनिधि, बजेट लगायतका व्यवस्था सुचिश्चित नगरेसम्म मधेसमा कुनै पनि चुनाव नहुने र गर्न नदिने ठोकुवा गर्नुभयो ।

अध्यक्ष झाले मधेस आन्दोलनका क्रममा मधेसमा मारिएकालाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार खर्च, झुठा मुद्दा फिर्ता, बन्दीलाई रिहा नगरेसम्म कुनै पनि मधेसी चुनावमा नजाने र मधेसमा चुनाव हुन नदिने बताउनुभयोे । उहाँले राजपा चुनाव विरोधी नभएको तर चुनाव गराउन सरकारले मधेसमैत्री संविधान बनाउनुको विकल्प नरहेको प्रस्ट्याउनुभयो ।

फोरम कार्यालयमा तोडफोड, झन्डा जलाइयो

यसैबीच, राष्ट्रिय जनता पार्टी नेपाल, महोत्तरीले बुधबार जिल्ला सदरमुकाम जलेश्वरमा सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड मेटाएको र झन्डा जलाएका छन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका राजपाले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

मधेस बन्द गर्दै आन्दोलनमा उत्रेका राजपा नेपालका ५०÷६० जना कार्यकर्ता जलेश्वर नगरपालिका–२ खैराचौकस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा गएर तोडफोड गर्दै पार्टीको बोर्ड कालो रङ्गले मेटिदिएका छन् भने पार्टी कार्यालयमाथि रहेको पार्टीको झन्डा उतारेर जलाइदिएका छन् ।

राजपा नेपालका कार्यकर्ताले उपेन्द्र यादवलाई मधेस विरोधी रहेको तथा मधेसीको भावनासँग खेलबाड गर्दै मधेस र मधेसीको हित विपरीत स्थानीय तहको चुनावमा भाग लिन लागेको भन्दै उहाँको पार्टीको साइनबोर्ड मेटिएको तथा झन्डा जलाइएको आन्दोलनरत राजपा नेपाल महोत्तरीका नेता सुदीप झाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्