बुटवलमा तालमेल



 

नेपाल समाचारपत्र
बुटवल
आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सहकार्य गर्ने सहमति गरेका छन्। जसअनसार बुटवल उपमहानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसकोतर्फबाट खेलराज पाण्डे र उपमेयरमा नेकपा माओवादी केन्द्रकातर्फबाट जगतबहादुर पोखरेललाई अगाडि सारिएको छ।

त्यस्तै, देवदह नगरपालिकामा पनि मेयरमा नेपाली कांग्रेसकोतर्फबाट हीराबहादुर खत्री र उपमेयरमा नेकपा माओवादी केन्द्रकातर्फबाट टीका न्यौपाने गौतमलाई अगाडि सारिएको छ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हकिकुल्ला खाँद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तीमा सहमति गरिएका दुबै स्थानका उम्मेदवारहरूलाई विजयी गराउन दुबै पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा मतदातामा अपिल गरिएको छ।

यसअगाडि नेपाली कांग्रेसले तालमेलको ढोका खुला राख्दै उपमेयर पद खाली राखेको थियो। नेपाली कांग्रेसकातर्फबाट बुटवल उपमहानगरपालिको उम्मेदवार बन्नुभएका खेलराज पाण्डेले नेपाली कांग्रेस नै बुटवलको विकासको पर्याय भएको बताउनुभएको छ। उहाँले यस नगरको हालसम्मका विकासका पूर्वाधार पनि कांग्रेसको नेतृत्वमा नै बनेकाले यसलाई समृद्ध उपमहानगरपालिका बनाउने अभिभारा पनि कांग्रेसको नेतृत्वमा नै सम्पन्न हुने दावी गर्नुभएको छ। मंगलबार पत्रकारहरुसंग भएको छलफलका क्रममा उहाँले आफूले सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो। नगर क्षेत्रभित्र रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यवस्था मिलाउने र नगरपालिकाबाट नामसारी सहजै हुने पद्धतिको विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

त्यसै गरी वर्षा याममा अभिषापका रुपमा देखा पर्ने तिनाउ नदीलाई बरदानका रुपमा सदुपयोग गर्ने कार्यक्रम पनि उहाँले अगाडि सार्नुभएको छ।

बुटवलको विकासका नेपाली कांग्रेसको भूमिका उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो– ‘नेपाली कांग्रेसबाहेक यहाँ अरु दलले विकासमा के–कति योगदान गरेका छन? मलाई बताइदिनुहोस्।’ उहाँले बुटवलमा भएका विकासका काम नेपाली कांग्रेसकै नेतृत्वमा भएको उल्लेख गर्नुभयो।

मैनाबगरमा रहेको अटो भिलेज, मणिमुकुन्द सेन उद्यान, आम्दा अस्पताल, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवन, लुम्बिनी अञ्चल अस्पतालको प्रसूतिकक्ष निर्माण, बुटवल लायन्स आँखा अस्पताल निर्माण लगायतका काम नेपाली कांग्रेसका नेता स्व. सूर्यप्रसाद प्रधान मेयर हुँदा सुरुवात गर्नुभएको थियो। त्यस्तै गरी स्व. प्रधान मेयर हुँदा नै पत्रकारिताको प्रोत्साहनका लागि उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो। उक्त पुरस्कार अहिले पनि नेपाल पत्रकार महासंघले वितरण व्यवस्थापन गर्दै आइरहेको छ। रुपन्देही जिल्लामा दर्जनौं पुल निर्माणमा उहाँकै योगदान छ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि संविधान बनाउँदा मिलेका दलहरू कार्यान्वयनमा पनि मिल्नुपर्ने धारणा राख्नुभएको छ।

नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेको स्मरण गर्दै संविधान जारी गर्दाका सहयात्री दलहरू कार्यान्वयनमा पनि एक हुनुपर्ने धारणा राख्नुभयो।

नेपाली कांग्रेस, सैनामैना नगर समितिले मंगलबार आयोजना गरेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार कार्यक्रम सैनामैनाको कलौनीमा सम्वोधन गर्दै कांग्रेस नेता भण्डारीले संविधान आएकै कारण मुलुक निर्वाचनमय भएको उल्लेख गर्नुभयो। कांग्रेसकै नेतृत्वमा आएको संविधानमा स्थानीय तहमा २२ वटा अधिकार सुनिश्चित भएको जानकारी गराउँदै भन्नुभयो– ‘संविधान दिने पार्टीलाई भोट दिने कि चुट्किला भन्नेलाई?, अधिकार तपाईंकै हातमा छ।’

पहिलो चरणको निर्वाचनमा एमालेले बढी स्थानमा जित हात पारेपछि केपी ओलीमा अहम् बढेको आरोप लगाउँदै उहाँले आफ्नो झण्डासम्म बोक्न नसक्ने पार्टीले जनताको पक्षमा केही गर्न नसक्ने दावी गर्नुभयो।

कांग्रेस सैनामैनाका मेयरका उम्मेदवार फणेन्द्र शर्माले सैनामैनाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो।

नगर समितिका सभापति रामप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महिला संघकी रमा अर्याल, टेकबहादुर रेश्मीलगायतले भनाइ राखेका थिए।

 

प्रतिक्रिया दिनुहोस्