’संविधानको भण्डाफोर गर्न उम्मेदवारी‘



 

सुशीला आचार्य
घोराही उप–महानगरपालिका, दाङमा
देशभक्त गणतान्त्रिक मोर्चाका तर्फबाट
मेयर पदका उम्मेदवार

चुनावलाई उपयोग गर्ने नीति लिएको नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत विभिन्न ठाउँमा उम्मेदवारहरु उठाएको छ। घोराहीको मेयरमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट देशभक्त गणतान्त्रिक मोर्चाको तर्फबाट सुशीला आचार्य उम्मेदवार बनेकी छन्। आचार्य वैद्यकी भाइबुहारीसमेत हुन्। के छन् त उनका भावी सपना ? प्रस्तुत छ, उनले नेपाल समाचारपत्र प्रतिनिधिसँग गरेको कुराकानीका मुख्य अंश

तपाईंको पार्टी संविधानसभामा नगए पनि अहिले उम्मेदवारी दिनुभयो नि ?

स्वाभाविक पनि हो। संविधान त बनेको छ। तर, संविधानले सबैका अधिकारहरु समेट्न सकेको छैन। अझै जनजीविकाका समस्या जस्ताको त्यस्तै छन्। त्यसैले संविधानको भण्डाफोरका लागि आममतदातालाई सुसूचित बनाउन मैले उम्मेदवारी दिएकी हुँ।

जितेमा के गर्नुहुन्छ ?

दाङ दक्षिण एसियाकै दोस्रो उपत्यका हो। र, सम्भावनायुक्त ठाउँ पनि हो। सबैको उपयुक्त क्षेत्र दाङ भएकाले प्रादेशिक राजधानीका कुराहरु आइरहेको छ। त्यसैले प्रादेशिक राजधानी बनाउन पहल गर्न मैले उमेदवारी दिएको हुँ। पुराना मठमन्दिरहरुको प्रवद्र्धन हुन सकेको छैन। ती मन्दिरको पुर्नसंरचना गर्नेछु। वैदेशिक रोजगारीको नाममा अधिकाशं महिलाहरु विदेशीन बाध्य भएका छन्। महिलालाई उद्यमशील बनाउन उमेदवारी दिएको हुँ।

जितेपछि पहिलो काम के गर्नुहुन्छ ?

पहिलो काम त युवाहरुलाई स्वरोजगार बनाउन ३ देखि ६ महिनासम्मको तालिमको व्यवस्था गर्नेछु। जसले युवाहरुलाई सीपमूलक तालिम लिन भूमिका खेलोस्। भूमिहीन र सुकुम्बासी किसानहरुको तथ्याङ्क संकलन गरी आवासका लागि पहल थाल्नेछु। प्रत्येक वडा कार्यालयसम्म पक्की सडक, नगर बस सञ्चालन, मझौला खानेपानी योजना निर्माण र बृद्धबृद्धालाई सम्मानका कार्यक्रमहरु ल्याउनेछु।

महिला भएकाले महिलाका लागि विशेष केही योजना छन् कि ?

अझै थुपै्र महिलाहरु हिंसाको शिकारमा पर्न बाध्य छन्। उनीहरुलाई रोजगारी दिलाउन आवश्यक छ। रोजगारी नहुँदासम्म सशक्तिकरण र आत्मनिर्भर हुने कुरै भएन। आमाको नामबाट अझै पनि सहज र सरलीकृत तवरबाट नागरिकता पाउन सकिराखिएको अवस्था छैन। पैत्रृक सम्पत्तिमा समानता छैन। हिंसा पीडित महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा राखिएको छ। महिलाहरुलाई अधिकार सम्पन्न बनाउनु मेरो कर्तव्य हुनेछ।

चुनावी प्रचारप्रसारलाई कसरी अघि बढाउनुभएको छ ?

राज्यले दलिय हैंसियत नदिँदा अप्ठेरो भएको छ। सीमित दलहरुको सिन्डिकेटका कारण हामीले चुनाव चिन्ह् पाउन सकेनौं। उपमहानगरपालिकाभित्रका १९ वटै वडामा आफ्ना एजन्डा लगेर प्रचारप्रसारलाई तीव्र पारेका छौं। अब केही वडामा मात्रै पुग्न बाँकी छ। निकै सस्तो खालको प्रचारप्रसार गरेका छौं। आन्दोलनमा समर्पित भएका किसान तथा आम मतदाताहरुले हाम्रो टिमलाई हौसला दिनुभएको हामीले पाएका छौं।

प्रतिक्रिया दिनुहोस्