भावी मेयरका हरिवन सपना



 

गणेश प्रसाई
हरिवन नगरपालिका, सर्लाहीमा
नेकपा एमालेका तर्फबाट
मेयर पदका उम्मेदवार

स्थानीय तहको निर्वाचन आउन अब केही साता मात्रै वाँकी छ। दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन्। विगतमा विद्यार्थी राजनीतिमा सक्रिय प्रमुख विपक्षी नेकपा एमालेका युवा नेता गणेश प्रसाई अहिले सर्लाहीको गर्मीमा चुनाव प्रचारमा व्यस्त छन्। उनी आफू सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा जित्ने निश्चित भइसकेको बताउँछन्। के छ त उनका भावी योजना ? प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि प्रशान्त वलीले उनीसँग गरेका कुराकानीका मुख्य अंशः

तपाईंको उम्मेदवारी किन होला ?

स्थानीय सरकारलाई बलियो र प्रभावकारी बनाउन मैले उम्मेदवारी दिएको छु। नगरलाई समृद्ध, सम्मुनत र विकसित बनाउन लाग्ने मेरो ध्येय हुनेछ। हाम्रो क्षेत्र विशाल सम्भावना बोकेको भूभाग हो। अहिले युवाहरु विदेश पलायन हुने समस्या विकराल भइरहेको छ। जनताको सेवकका रूपमा जनतालाई सेवा दिने मेरो प्रमुख कर्तव्य हुनेछ। गाउँमा रोजगारी सृजना गर्ने गरी दीर्घकालीन योजना बनाएर अघि बढ्ने सोचमा छु। अझै पनि आमनागरिकले सेवा लिन जाँदा कार्यालयमा सहज तरिकाले सेवा प्रवाह भइरहेको छैन। मुस्कानसहितको सेवा कार्यक्रमलाई व्यवहारिक रुपमा अवलम्बन गर्नेछु।

चुनाव सारियो भने त्यसले दीर्घकालीन असर पर्न सक्छ। थोरै नेताले चुनाव नचाहँदैमा आम कार्यकर्तालाई मत दिने अधिकारबाट कसैले पनि वञ्चित गर्न पाउँदैन।

जितेपछिका ठोस योजना भन्दिनु न। सर्लाही जिल्लामा उत्पादन हुने हिउँदे तथा नगदेबालीहरुलाई बजारीकरण गर्न कृषी बजारको व्यवस्थापन गर्ने सोच बनाएको छु। अझै ठूलाठूला व्यापारिक संरचनाहरु बन्न सकेका छैनन्। व्यापारिक संरचना तयार गर्न पहल गर्नेछु। नगरपालिकाभित्र कम्तीमा पनि ५० किलोमिटर सडक कालोपत्रे गरी समृद्ध नगरका रुपमा विकास गर्नेछु। बजार व्यवस्थापन र सडकको स्तरोन्नति मेरो प्राथमिकताको विषय रहनेछ।

तराईंमा निर्वाचन हुन्न पनि भन्दैछन् नि ?

निकै लामो समयपछि स्थानीय तहको निर्वाचन हुँदै छ। यसले गर्दा आम मानिसमा उत्साहका किरणहरु छरिएका छन्। चुनावलाई बिथोल्ने प्रयास कहीं कतैबाट पनि हुनुहुँदैन। आम मतदाता प्रतिनिधि छान्न आतुर भएको अवस्था छ। सबैले चुनाव चाहिरहेका छन्। चुनाव तोकिएकै समयमा हुनुपर्छ भन्ने मतदाताको तीव्र मनोकांक्षा छ। मधेस केन्द्रित दलहरुले अनावश्यक कुरा गरेर देशलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन। देशले निकास खोजिरहेको छ। अब मधेसवादी दलहरु पनि सहमतिमार्फत चुनावमा सहभागी हुनुपर्छ। चुनाव सारियो भने त्यसले दीर्घकालीन असर पर्न सक्छ। थोरै नेताले चुनाव नचाहँदैमा आम कार्यकर्तालाई मत दिने अधिकारबाट कसैले पनि वञ्चित गर्न पाउँदैन।

कसरी अघि बढाइरहनुभएको छ प्रचारप्रसार ?

प्रचारप्रसारलाई निकै व्यवस्थित ढंगले अघि बढाएका छौं। के–के काम गर्ने भनेर पार्टीका तर्फबाट जिल्ला स्तरीय घोषणापत्रसमेत बनाएका छौं। अहिले हाम्रो टोली गाउँगाउँमा मतदातासमक्ष भोट माग्न हिँडिरहेको छ।

प्रचारप्रसारमा कुनै अप्ठेरो त छैन ?

त्यस्तो केही छैन। हामी प्रचारप्रसारमा सहज ढंगले हिँडिरहेका छौं। कुनै पनि अप्ठेरो छैन।

प्रतिक्रिया दिनुहोस्