उत्तर कोरियासँग व्यापार गर्ने देशहरूमाथि नाकाबन्दीको तयारी



 

वासिङ्टन, (एजेन्सी)
अमेरिकाले उत्तर कोरियासँग गैरकानुनी व्यापार गरिरहेका देशहरूमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले ती देशहरूमाथि प्रतिबन्ध लगाउने विषयमा ह्वाइट हाउसले छिट्टै फैसला गर्ने चेतावनी दिएको छ। ट्रम्प प्रशासन उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई रोक्नका लगि दबाब बढाइरहेको छ।
प्योङयाङको पछिल्ला क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रियस्तरमा खतरालाई संकेत गरेको छ। संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि ती क्षेप्यास्त्र परीक्षणमाथि प्रतिबन्ध लगाएको छ।

उत्तर कोरियाले अमेरिकासम्म मारक क्षमता भएको अन्तरमहाद्विपीय क्षेप्यास्त्र विकास गरिरहेको विश्वास गरिएको छ। टिलरसनले अमेरिकी सिनेटको विदेश मामिला समितिको बैठकमा उक्त तथ्य राखेका थिए।

विदेशमन्त्रीले भने– ‘हामी यस्तो परिस्थितिमा छौं जहाबाट अब अर्को चरणको प्रयास गर्नुपर्ने हुन्छ। हामीले जुन देशहरूलाई सूचित गरेका छौं उनीहरू या त अनिच्छुक छन् वा त्यस्तो गर्नमा उनीहरू सक्षम छैनन्। त्यसैले दोहोरो स्तरको प्रतिबन्ध लगाउन शुरू गर्नु पर्नेछ।’

अमेरिका र उत्तर कोरियाको कुनै व्यापारिक सम्बन्ध छैन। अब उसले उत्तर कोरियासँग व्यापार गर्दै आइरहेका तेस्रो विश्वका देशहरूका कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने सोच बनाइरहेको छ। उनीहरूले संयुक्त राष्ट्रको सम्झौताको उल्लंघन गर्दै किम जोङ उन सरकारसँग व्यापारिक सम्बन्ध बनाएका छन्।
यद्यपि आफ्नो बयानमा टिलरसनले कारबाहीमा पर्न सक्ने देशहरूको नाम लिएको छैन।

प्रतिक्रिया दिनुहोस्