कालोपत्रे धमाधम



 

सुरेश तामाङ, काठमाडौँ
काठमाडौंसँग हेटौंडा जोड्ने वैकल्पिक मार्गका रूपमा परिचित कान्ति लोकपथमा धमाधम कालोपत्रे थालिएको छ। कान्तिलोक पथ सडक योजनाले सडक कालोपत्रे गर्ने कामलाई तीव्रता दिएको हो।

योजनाका प्रमुख देवेन्द्र शाहले कान्तिलोक पथअन्तर्गतको ललितपुर र मकवानपुर सडक खण्ड गरी चालू आवभित्र कालोपत्रे गर्ने लक्ष्यअनुसार कालोपत्रेको काम थालिएको बताउनुभयो।

योजनाले चालू आवमा कान्तिलोक पथअन्तर्गतको ललितपुर र मकवानपुर सडक खण्ड गरी करिब १५ किमि सडक खण्ड कालोपत्रे गर्ने लक्ष्य राखेको थियो।
कालोपत्रे गर्न योजनाले ललितपुरतर्फ बिरुवा–कविर जेभी कन्ट्रइकटरसँग र मकवानपुरतर्फ मोतीदान–कञ्चनजंगा जेभीसँग सम्झौता गरी काम थालिसकेको छ।

कन्ट्रइक्टरले ललितपुरतर्फ टीकाभैरव मल्ल होटल सडक खण्डअन्तर्गत २ किमि सडक कालो पत्रे भइरहेको योजनाका प्रमुख शाहले बताउनुभयो। मकवानपुरतर्फ भने बुद्धचोकदेखि यता गढीभञ्ज्याङसम्म १३ किमि सडक खण्डको भाग कालो पत्रे भइरहेको उहाँले बताउनुभयो।

तोकिएकै समयमा लोकपथको सम्पूर्ण काम सम्पन्न गर्नका लागि केही ठाउँमा चौडा, ग्रावेलिङ र कालोपत्रेलाई आक्रामक ढंगले काम अगाडि बढाइरहेको योजना प्रमुख शाहले बताउनुभयो।

भट्टेडाँडादेखि छपेली र बगुवा काल्चे खण्डमा ग्रावेलिङ गर्ने योजना रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार निर्माण कार्य सकिएलगत्तै ९० किमिको काठमाडौं–हेटौंडा सञ्चालनमा आउने निश्चित भएको छ। तर, कान्तिलोक पथको सडक चौडाको काम सकेको छैन। सडक चौडाअन्तर्गत मकवानपुरमा ५ र ललितपुरमा ४ खण्ड सडक चौडा गरिरहेको छ।

पाँच किमि सडक खण्डमा चौडाको काम हुन बाँकी नै छ भने असोजसम्म चौडाको काम सम्पन्न गर्ने योजना बनाएको छ। त्यसैअनुसार काम भइरहेको योजनाले जनाएको छ।

विस्फोटक पदार्थ नहुँदा पनि केही सडक खण्डमा सडक चौडाको काम रोकिएको छ। पटकपटक औपचारिक रुपमा ताकेता गरे पनि सो पदार्थ नपाएको योजना प्रमुख शाहले बताउनुभयो।

२०७५ असार मसान्तमा लोकपथको योजना सक्ने अन्तिम समय भए पनि हालसम्म भने ४० प्रतिशत मात्रै काम सकेको आयोजनाको दाबी छ। त्यससँगै २०१३ सालमा शुरू भएर सुस्ताएको सडक विस्तारको कामलाई राज्यले पनि पछिल्लो आवदेखि प्राथमिकतामा राखेको छ। त्यसबेला राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण शुरू गरिएको थियो।

शिलान्यास भएको ६० वर्ष बितिरहँदा भने सडकको कामले तीव्रता पाएर बन्लान् कि भन्ने यस भेगका आम मानिसलाई आशा जागेको छ। योजनालाई सरकारले पर्याप्त बजेटको समेत व्यवस्था गरिदिएको छ।

यस आवमा करिब ६० करोड योजनालाई छुटइइसकेको छ भने हालसम्म योजनाले ८६ करोड खर्चसमेत गरिसकेको छ। लोकपथ विस्तार भई सञ्चालनमा आउन योजनाले ३ अर्ब ३७ करोड बजेट अनुमान गरेको छ। सडकले ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैली परिवर्तन गर्ने विश्वास छ।

मुख्य व्यापारिक नाका वीरगन्जलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने भएकाले वीरगन्ज नाकाबाट नेपाल तथा भारतबीचको व्यापारिक वस्तु तथा सेवा विस्तारमा योगदान पुग्ने आशा सर्वसाधारणको छ। कृषि र पर्यटकीय क्षेत्रको विकास भई आर्थिक गतिविधिमा पनि यसले योगदान पुग्ने अनुमान छ।
उत्तर–दक्षिण लिंक, काठमाडौं निजगढ द्रुतमार्ग र ड्राइपोर्टमा एकीकृत भन्सार जाँचस्थल बन्न सक्छ। पूर्व–पश्चिम रेलमार्ग, निजगढ विमानस्थल र सिमरा नजिक बन्ने विशेष आर्थिक क्षेत्रमा सहयोग पुर्याउन सक्छ। वीरगन्ज बस टर्मिनललगायतमा यस मार्गले विशेष सहयोग पुर्याउने बताइएको छ।

लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँदोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तिनपाने भञ्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभञ्ज्याङ र बुद्धचोकसम्म (९० किमी) ३ घण्टामा पुग्ने योजनाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्