चुनावबारे दूतहरूको चासो



 

काठमाडौं, (नेस)
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे विभिन्न मुलुकले चासो लिएका छन्। बेलायत, भारत र चीनका राजदूतहरूले उप–प्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरी चुनावी चासो लिनुभएको हो।

गृहमन्त्री शर्मासँगको भेटवार्तामा बेलायती र चिनियाँ राजदूत रिचर्ड मोरिस तथा यू होङले आसन्न स्थानीय निकायको तयारीबारे चासो व्यक्त गर्दै चुनाव घोषित मितिमा हुने⁄नहुनेबारे जिज्ञासा राख्नुभएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
नव नियुक्त मन्त्री शर्मालाई बधाई दिन मन्त्रालय पुग्नुभएका उहाँहरूले चुनाव सफल बनाउन आफ्नो मुलुकको साथ र सहयोग रहने बताउनुभएको थियो।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले मन्त्री महरासँगको भेटवार्तामा प्रष्ट रुपमा चुनावी चासो नलिएपनि मन्त्री महराले नै आसन्न निर्वाचनको तयारी बारेमा अवगत गराउनुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। मन्त्री महराले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुरी उहाँलाई बधाई दिन बुधबार मन्त्रालय पुग्नुभएको थियो।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मन्त्री महरालाई भारत भ्रमणका लागि पठाउनु भएको निमन्त्रणा राजदूत पुरीले हस्तान्तरण गर्नुभएको महराका प्रेस सहयोगी हरि लामिछानेले जानकारी दिनुभयो। जवाफमा मन्त्री महराले स्थानीय तहको निर्वाचनपछि उपयुक्त समयमा भारत भ्रमणका लागि जाने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्