पैसा सकियो, बन्दैन घर



 

मोतीराम तिमल्सिना, काभ्रे
‘छोरा भए बुहारीलाई, छोरी भए ज्वाइँलाई’ यही उखान मिल्दोजुल्दो भएको छ जिल्लाको विकट कोशिपारी स्थित चौरीदेउराली गाउँपालिका १ सानोवाङ थलीका ५५ वर्षीय हुमबहादुर उप्रेतीलाई। तीन छोरा बुहारी लिएर शहर पसे। तीन छोरी विवाह गरेर पठाए। गाउँमा दुई बूढाबूढी रहेका उप्रेतीले भने– ‘घर बनाउन नसकिएपछि भत्किएकै संरचनामा मुन्टो लुकाएका छौं।’

उनी कान्छो छोरासँग बस्दै आएका थिए। जेठो र माइलो पहिल्यैदेखि भिन्न भएपछि राजधानी बस्दै आएका थिए। भूकम्प गएपछि पनि उनीहरू गाउँ फर्किएर घर बनाउने सुरसार कसेका छैनन्। कान्छो छोरा विदेश गएको छ। उसले विदेशमा कति पैसा कमाउँछ? के काम गर्छ केही पत्तो छैन हुमबहादुर दम्पतीलाई। श्रीमती बिरामी हुँदा भैंसी बेचेर उपचारका लागि शहर पठाएका हुमबहादुर एक्लै भत्किएकै घरभित्र एकातिर बाख्रा र अर्काेतिर आफू बस्दै आएका छन्। बाख्राको खोरसँगै ओछइन हुँदा पनि उनलाई आत्मसन्तुष्टि छ। ‘घर बनाउन सकिएको छैन। घर बनाउन नसकेपछि कसरी बसूँ?’ गहभरि आँसु चुहाउँदै हुमबहादुरले भने– ‘बुहारी काठमाडौंमा डेरा गरी बस्छिन्। छोराले पठाएको पैसा पनि के हो? कसो हो? थाहा छैन।’

‘सरकारले दिएको अनुदान दशैं खर्चमै सकियो। ५० हजार रकम ऋण तिर्न र दशैं खर्च गर्न सकिएपछि घर बनाउने सुरसार छैन।’ –चौरीदेउराली गाउँपालिका १ सानोवाङ थलीका हुमबहादुर उप्रेतीले भने। भूकम्पले क्षतिग्रस्त भएका घरहरूको पुनर्निर्माण शुरु गर्न भएका कठिनाइमध्ये आर्थिक प्रमुख पाटो हो भने बाँकी ग्रामीण भेगका अन्य संरचनाहरू प्रभावित छन्। ‘तीन छोरा र बुहारी छन्, गाउँमा कोही बस्दैनन्’, उनले भने– ‘हामी दुई बूढाबूढीलाई भत्किएकै घर पुग्छ, बाँकी घर बनाएर कसका लागि जोहो गरिदिनु छ र? एकातिर भैंसी, बाख्रा बाँधेर अर्काेतिर आफू सुत्ने विछ्यौना बनाएका हुमबहादुरको कहानी अलिक भिन्नै छ। तीन छोरा नै भिन्न भइसकेका छन्। गाउँको जमिनमा दुःख गर्यो, दुम्सी र बँदेलले अन्नपात केही भित्त्याउन दिँदैन। नगरौं के गरेर बस्ने? तीन भाइ नै रोजगारीका लागि राजधानी र विदेशसमेत पुगेका छन्। घर फर्कन उनीहरू तयार भए पनि बाध्यताले शहरमै धकेलिरहेको छ।’

हुमबहादुर जस्ता थुप्रै भूकम्प पीडितहरू पहिलो किस्ताबापतको अनुदान लिएर पनि घर बनाउन सक्ने अवस्थामा छैनन्। सरकारले दिएको अनुदान रकम खर्च भइसकेपछि बाँकी रकमका लागि न त उनीहरूले घर निर्माण गर्न सकेका छन् न शुरु गर्न रकम नै छ। पहिलो किस्ता लिएर घरको जगसमेत नराख्ने पीडितहरूलाई दोस्रो किस्ताबापतको रकम दिन सरकार छैन। अधिकांशले शहरी क्षेत्रमै घर निर्माण गर्ने सोच पनि बनाएका छन्। जसले ग्रामीण भेगबाहेक अन्यत्र जग्गा खरिद गर्न सक्दैन उसले मात्रै ग्रामीण भेगमा घर बनाइरहेको छ। हुमबहादुरले ५० हजार सकिएकाले अब घर नबन्ने बताए।

प्रतिक्रिया दिनुहोस्