राम्रो खेलेका छन्ः उपेन्द्र



 

नेपालले एएफसी एसियन कप क्वालिफायर्स २०१९ अन्तर्गत समूह चरणको खेलमा यमनसँग बराबरी खेलेको छ। नेपालले यमनलाई हल्चोकस्थित शसस्त्रको मैदानमा गोलरहित बराबरीमा रोकेर समूहमा एक अंक जोडेको छ। नेपालले घरेलु मैदानमा जित आवश्यक भए पनि बराबरी खेलेको छ। नेपालले यमनसँग पहिलेको दाँजोमा राम्रै खेलेको नेपालका पूर्वराष्ट्रिय गोलकिपर उपेन्द्रमान सिंहको भनाइ रहेको छ। उपेन्द्रले दुई पटक नेपाल र यमनबीचको खेलमा आफनो अनुभव बटुलेका थिए। यही आधारमा उपेन्द्रसँग नेपाल समाचारपत्रका संवाददाता फिरोज राजोपाध्यायले गरेको छोटो कुराकानी यस्तो छ।

आजको खेल कस्तो लाग्यो?

—राम्रै खेलेको छ नेपालले। नेपालले यमनसँग गोलरहित बराबरी खेल्ने भनेको ठूलो उपलब्धि हो। पहिले हामीले खेल्दा यमन धेरै राम्रो थियो। सन् २००० मा शायद एसियन कप छनोट हो कि कुवेतमा नेपाल यमनसँग ३–० ले हारेको थियो। अहिले नेपाली खेलाडीहरूले लिग खेल्न पाएका छैनन्। रंगशाला छैन। यस्तो अवस्थामा पनि नतिजा बराबरी खेल्नु सकारात्मक विषय नै बनेको छ। अर्को बराबरी नै खेल्ने तय गरेर नै मैदानमा आएको जस्तो पनि लाग्छ।

कसरी यस्तो अनुमान लगाउनुभयो?

—किनभने एट्याकिङ र मिडफिल्डबीच कुनै तालमेल नै देखिँदैन। डिफेन्स ठिकै चलिरहेको थियो। कतिपटक काउन्टर एट्याकमा बल क्रस गरे पनि खेलाडी देखिँदैन। यसैले कोचको रणनीति बराबरी खेल्नु नै भन्न सकिन्छ। कोचको रणनीति बुझ्न पनि सकिएन।

बिमललाई अन्तिममा ल्याइयो यो गलत भएन र?

—हो यो कोचको गल्ती नै थियो। बिमल जस्तो खेलाडीलाई खेल सकिन दुई मिनेट बाँकीमा ल्याउनु सही निर्णय मान्न सकिँदैन। म त एकछिन अलमलमा परें, कोचले के गरेको यो भनेर। गोल नभइरहेको स्थितिमा बिमललाई कमसेकम १० –१५ मिनेट बाँकी हुँदा ल्याएमा केही न केही नतिजा आउँछ भन्ने मलाई लाग्छ। मलाई लाग्छ उनले बल एक पटक मात्रै छुन पाए होला।

अनि अनिलबारे के राय छ त ?

—अनिललाई पनि इन्जुरी समय सकिन दुई मिनेट बाँकी हुँदा मैदानमा ल्याएको थियो। यो मेरो विचारमा अनिललाई सम्मान दिनका लागि मात्रै खेलाएको हो।

के अनिलको करिअर समाप्त भयो त ?

—कप्तान हुन उनी, एक अनुसासित खेलाडी हुन्। उनी भित्रबाहिर टोलीमा भइरहनु भनेको उनको करिअर समाप्त भएको सम्झनुपर्छ। यो संकेत रिटायर्डमेन्टको पनि हो। मेरो विचारमा उनले रिटायर्ड लिनुपर्छ। अहिले नयाँ युवा खेलाडीहरू आएका छन्। यसैले पनि एज फ्याक्टरले गर्दा अनिलले बुझ्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्