बराबरीसँगै नेपाललाई अंक



यमनको आक्रमण विफल पार्दै नेपालका गोलकिपर किरण कुमार लिम्बू।

 

कविरस शर्मा, काठमाडौं

सन् २०१९ मा युनाइटेड अरब इमिरेट्समा हुने एसियन कपअन्तर्गत छनोट चरणको खेलमा नेपालले यमनसँग बराबरीको नतिजा निकाल्दै पहिलो अंक जोडेको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले यमनविरुद्ध गोलरहित बराबरीको नतिजा निकालेको हो। योसँगै समूह एफ अन्तर्गत नेपालले दुई खेलमार्फत यो पहिलो एक अंक जोडेको छ। यता यमन भने दुई खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा छ। गत चैतमा भएको समूहको पहिलो चरणको खेलमा फिलिपिन्सले नेपाललाई उसैको गृह मैदानमा ४–१ ले हराएको थियो। यस्तै यमनले पनि ताजकिस्तानलाई २–१ ले हराएर तीन अंक बटुलेको थियो।

नवयुग श्रेष्ठ (रातो) फाउल हुँदै।

खेल अवधिभर बल पोजेसन अधिक भए पनि नेपालले फिनिसिङ राम्रो गर्न नसकेपछि बराबरीकै नतिजामा नै चित्त बुझाउनुपरेको हो। नेपालले गोलका लागि प्राप्त गरेको करिब आधा दर्जन उत्कृष्ट अवसरलाई खेर फालेका थिए। शुरुआतको १५ मिनेटभित्र यमनले गोलका लागि केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि नेपाली गोलरक्षक किरण चेम्जोंग बाधक बनेका थिए।

खेलको पाँचौं मिनेटमा यमनका अहमिद नबिल हजाइले डी एरिया बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई किरणले उत्कृष्ट डाइभ गर्दै जोगाएका थिए। यसैगरी खेलको १२औं मिनेटमा पनि यमनका हजाईको वान भर्सेस वानको अवस्थालाई किरणले निस्तेज पारेका थिए। यसैले पनि किरणलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

नेपालले पनि खेलको २७औं मिनेटमा गोलका लागि उत्कृष्ट अवसर चुकाएको थियो। अन्जनको कर्नरमा पोस्ट अगाडि लहरै खालि उभिएका अन्जन, सुजल र भरतले बललाई छून समेत चुकाएपछि नेपालले गोलको खाता खोल्न सकेन। यस्तै खेलको ३६औं मिनेटमा सुजलको लामो प्रहार विपक्षी किपरले सहजै विफल पारेका थिए।

तुलनात्मक रूपमा दोस्रो हाफमा भने खेलले गति लिएको थियो। जसअनुरूप नेपाली टोलीले केही उत्कृष्ट अवसरको सिर्जना गरेका थिए। खेलको ४८औं मिनेटमा अनन्त तामाङको हेड प्रहार गोलपोस्ट नजिकैबाट बाहिरियो। त्यसको दस मिनेटपछि नवयुग श्रेष्ठले प्रहारले सही दिशा लिन सकेन। खेलको ६४औं मिनेटमा अन्जन विष्टको प्रहार यमनका गोलरक्षकले पन्च गरेर जोगाएका थिए। यस्तै खेलको ८९औं मिनेटमा रोहित चन्दले डी एरिया नजिकैबाट प्रहार गरेको बललाई विपक्षी गोलरक्षकले मुस्किलले डाइभ पन्च गर्दै मैदान बाहिर हुत्याइ दिएका थिए। यता खेलको इंज्युरी समयमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका स्ट्राइकर अनिल गुरुंगले बल छुनु अगावै रेफ्रीले खेल समाप्त भएको सिटी फुकेका थिए। नेपालका लागि उत्कृस्ट प्रदर्शन गरेका गोलरक्षक किरण चेम्जोङ खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। अब नेपालले आगामी खेल ताजिकिस्तानविरुद्ध खेल्नेछ।

नेपाली टोली
किरण चेम्जोङ (गोलरक्षक), विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी (७३, देवेन्द्र तामाङ), कमल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट (८९, बिमल घर्ती मगर), सुजल श्रेष्ठ, रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ (९२ अनिल गुरुङ)

प्रतिक्रिया दिनुहोस्