हिंसाको सहारा नलेऊ



 

दोस्रो चरणको निर्वाचनको तिथी नजिकिएसँगै तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले तराईमा हिंसात्मक गतिविधि अघि बढाउन थालेको छ । निर्वाचन भनेको जनताको अभिमत प्रकट गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम हो । अहिले मधेसका जनता पनि आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि छान्न अत्यन्त व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । यस्तो समयमा आफ्ना केही राजनीतिक माग पूरा नभएको आधार देखाउँदै चुनाव बिथोल्ने काममा राजपा लाग्नु भनेको हिंसालाई बढावा दिनु र अलोकतान्त्रिक कार्य हो भन्न हिच्किचाउनुपर्दैन ।

शान्तिपूर्णरुपमा आफ्ना गतिविधि सञ्चालन गर्न कुनै पनि दललाई अधिकार छ । यो दुनियाँभरिकै प्रचलन हो । तर, शान्तिपूर्णरुपमा गरिएका कार्यक्रम बिथोल्ने क्रियाकलाप राजपाका लागि सुहाउने कुरा होइन । लामो लोकतान्त्रिक र अहिंसात्मक आन्दोलनमा लागेका महन्थ ठाकुर तथा राजेन्द्र महतोजस्ता नेताहरु संलग्न भएको पार्टीले हिंसाको साथ लिनु र शान्तिपूर्ण गतिविधिमा संलग्न हुने अन्य पक्षलाई आक्रमणको प्रयास गर्नु लाजमर्दो कुरा हो । अवस्था यस्तो लाजमर्दोसम्म देखियो कि मुलुक विखण्डनको पक्षमा लागेको सिके राउत नामको व्यक्तिले समेत केही दिनअघि राजपाका नेता ठाकुरलाई पत्र पठाएर हिंसात्मक गतिविधि नगर्न र चुनावमा सहभागी हुन आग्रह गरेको देखियो । यो ठाकुर र महतोजस्ता उचाइ भएका नेताका लागि लाज हुनुपर्ने विषय हो । अब के उहाँहरुलाई विखण्डनकारीले यस्ता कुरा पनि सिकाउनुपर्ने अवस्था आएको हो ? गम्भीर प्रश्न उब्जिन थालेको छ र उहाँहरुले आफ्ना गतिविधिको समीक्षा गर्ने समय आएको छ ।

जनता विगत दुई दशक अघिदेखि कर्मचारीतन्त्रको शासनबाट आजित भएका छन् । उनीहरु त्यसको विकल्प खोज्न चाहन्छन् । त्यसको विकल्प भनेको स्थानीय निकायको चुनाव नै हो । यो जनचाहनालाई अवज्ञा गर्दै त्यसलाई बिथोल्ने कार्य कुनै पनि राजनीतिक शक्तिलाई सुहाउने कार्य होइन । जनचाहना विपरीत कोही जान चाहन्छ भने त्यो राजनीति हुँदैन, आपराधिक गतिविधि हुन जान्छ । त्यसैले तत्कालै राजपाका नेताहरुले आफ्नो कार्यनीति सच्याउनु जरुरी छ । चुनावबाट भाग्दा सो दललाई नै बेफाइदा हुने अवस्था रहेको छ । किनकि उहाँहरु भाग्दैमा चुनाव नै रोकिने अवस्था छैन । निर्वाचित निकायमा उहाँहरुको स्थान नहुनु भनेको आगामी दिनमा जनताबाट क्रमशः टाढिँदै जाने अवस्था उत्पन्न हुनु पनि हो । त्यस्तो अवस्था आउनु भनेको सो दललाई नै घाटा हुनु हो ।

चुनावमा अनावश्यक तनाव सिर्जना गर्ने र मारकाटको अवस्था सिर्जना गर्दा त्यसले मधेसी जनतालाई नै अप्ठेरो अवस्थामा पुर्याउन सक्छ । के राजपाले मधेसी जनतालाई अप्ठेरो पार्न खोजेको हो ? यो प्रश्नको जवाफ पनि राजपाले दिने बेला भएको छ । विभिन्न बहाना बनाएर यसअघि पटक–पटक चुनावको तिथी सार्ने काम भएको छ । राज्यले उसका माग सुन्नका लागि केही पनि गरेन भन्ने कुरामा समेत सर्वसाधारण सहमत हुने अवस्था छैन । आफ्ना सही वा गलत सबै खालका माग पूरा गराउने एकमात्रै विकल्प चुनाव बिथोल्ने क्रियाकलापलाई बनाउन पाइँदैन । अहिले के सूचना पनि सम्प्रेषित गर्न थालिएको छ भने, उम्मेदवारको मनोनयन दर्ताको दिन कुनै अवाञ्छित घटना गराइदिने र त्यसलाई आधार मान्दै चुनाव पर सार्ने खालका गतिविधिसमेत अघि बढाउने काम भइरहेको छ । यदि यसो हो भने राज्यका सुरक्षा निकाय चनाखो भएर अघि बढ्नुपर्दछ । केही व्यक्तिको लहडको भरमा राज्यका नियमित गतिविधि सारेर अब ठट्टा गर्ने काम नगरौं । ठट्टाको पनि एउटा हद हुन्छ । हद नाघ्यो भने त्यसलाई धान्न गाह्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्