मेलानिया ट्रम्प ५ महिनापछि ह्वाइट हाउसमा आइन्



 

वासिङटन, (एजेन्सी)
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प आफ्नो छोरा बेरेनसँग ह्वाइट हाउसमा बस्न आएकी छिन्। डोनाल्ड ट्रम्प राष्ट्रपति बनेको करिब ५ महिनापछि मेलानिया राष्ट्रपति निवासमा बस्न आएकी हुन्।

बेरेनको स्कुलको पढाइ पूरा गर्नका लागि उनी न्युयोर्कस्थित ट्रम्प निजी निवासमै बस्दै आएकी थिइन्। जनवरीमा ट्रम्प राष्ट्रपति बन्दा ११ वर्षीय बेरेन न्युयोर्कमा पढाइ गर्दै थिए।

हालैका वर्षहरूमा आफ्ना पतिसँग बस्न ह्वाइट हाउस नआएका मेलानिया पहिलो प्रथम महिला हुन्।

उनीभन्दा अगाडिका प्रथम महिला मिसेल ओबामा केही समय अगाडि नै वासिङटन पुगेकी थिइन्। आफ्ना छोरीहरूको नयाँ स्कुल भर्नाका लागि उनी आएकी थिइन्।

मेलानिया ह्वाइट हाउस पुगेपछि प्रसन्न देखिएको जनाइएको छ। उनले ह्वाइट हाउसको बार्दलीको एउटा तस्वीर ट्विट गरेकी छिन्।

मेलानिया वासिङटन पुगेपछि न्युयोर्कमा सर्वसाधारणले राहत महशुस गरेको जनाइएको छ। प्रथम परिवारको सुरक्षाका लागि न्युयोर्कमा कडा सुरक्षा व्यवस्था गरिएको थियो जसले आम नागरिकलाई कठिनाइ भइरहेको थियो।

यसैबीच राष्ट्रपति ट्रम्पकी छोरी इवान्काले एक अन्तरवार्तामा उनका पिताको जति विरोध भइरहेको छ , त्यसको कल्पना उनले नगरेको बताएकी छिन्। फक्स एन्ड फ्रन्डस मर्निङ टिभी सोमा दिएको अन्तरवार्तामा इवान्काले वर्तमान राष्ट्रपतिमाथि जुन क्रुरतामा हमला भइरहेको छ, त्यसलाई हेरेर आफू स्तब्ध रहेको बताइन्।

राष्ट्रपति ट्रम्पकी सल्लाहकारका रुपमा ह्वाइट हाउसमा बस्दै आएकी इवान्का विश्वकै सबैभन्दा शक्तिशाली छोरी बनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्