सांसद चढेको गाडीमा ढुंगामुढा



 

नेपाल समाचारपत्र
महोत्तरी
राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले महोत्तरीको औरहीमा सांसद दिपनारायण साह सवारी गाडीमाथि ढुंगामुढा गरेका छन्। राजपाका कार्यकर्ताहरूले औरही गाउँपालिका १ मा महोत्तरी क्षेत्र नं. ५ का निर्वाचित सांसद साह सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुंगामुढा गरेका छन्।
राजपाले आयोजना गरेको आमहडतालमा औरही बजारमा बिहानैदेखि चौकचौकमा निस्किएका बन्दकर्ताहरूले पसल र सवारी साधन बन्द गराउँदै हिँडिरहेका छन्। सडकमा सञ्चालन भएका सवारी साधनलाई बन्द उल्लंघन गरेको भन्दै बन्दकर्ताहरूले अवरोध गरिरहेका छन्। मधेस र मधेसीहरूको हक हितका लागि गरिएको तराई मधेस बन्द घोषणाको बाबजूद सांसद साहले गाडी चलाएकाले राजपाका कार्यकर्ताहरूले सांसद साह सवार गाडीमा ढुंगामुढा गरी चालक अगाडिको सिसा फुटाएको छ।
यता, सांसद साहले आफ्नो निर्वाचन क्षेत्र सम्सी हुँदै रामगोपालपुरबाट औरहीतिर आउँदै गर्दा ठाउँठाउँमा देखिएको अवरोधले हामीहरू बीचबीचमा वैकल्पिक बाटोबाट अगाडि बढ्दै थियौं तर जब हामीहरू औरही बजारमा पुग्यौं तब राजपाका कार्यकर्ताहरूले गाडीमा ढुंगामुढा प्रहार गरेपछि चालक अगाडिको सिसा फुटाएको र चालकले तीव्र गतिमा गाडीलाई बढाएर हामीहरूको ज्यान जोगाएको बताए। उनले हामी पनि मधेस विरोधी होइनौं, हामी पनि मधेस र मधसीको हकहितका लागि नै अहिलेको समयमा स्थानीय तहको चुनाव हुनुपर्नेमा जोड दिँदै राजपाले यस्तो संक्रमणकालीन समयमा संयमता अपनाउनुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने सांसद साह सवार गाडीमा कसले ढुंगामुढा प्रहार गरी सिसा फुटाएको सो अहिलेसम्म यकिन हुन नसकेको बताए।
राजपाद्धारा कार्यक्रम बिथोलियो।

राष्ट्रिय जनता पार्टी नेपालले जलेश्वरमा सञ्चालित सामाजिक जवाफदेहिता कार्यक्रम बिथोलेका छन्। नेपाल रेडक्रस महोत्तरी शाखा जलेश्वरमा नेपाल मधेस फाउन्डेसन केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा सञ्चालित सामाजिक जवाफदेहिता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रममा राजपाका कार्यकर्ताहरूले बिथोली कुर्सी तोडफोड गरेका छन्।

कार्यक्रममा सिमरदही, नैन्ही, कोल्हुवाबगेया र पिगौनाका सचिव, स्वास्थ्य चौकीका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। नेपाल मधेस फाउन्डेसनका जिल्ला संयोजक अर्जुन साहले आफूहरूले चलाइरहेको कार्यक्रम सकिनै लागेको समयमा एक्कासि राजपाका कार्यकर्ताहरू आई १ ल्यापटप र १ कुर्सी तोडफोड गरेका छन्। उनले आफूहरू पनि मधेस र मधेसीहरूको हकहितका लागि घोषणा गरेको आन्दोलनलाई समर्थन गरेको बताउँदै राजपाहरूले केही संयमता अनपाउनुपर्नेमा जोड दिए।

बन्दले जनजीवन प्रभावित
राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहडतालका कारण महोत्तरीको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सदरमुकाम जलेश्वर नगरपालिका, गौशाला नगरपालिकालगायत १२ गाउँपालिकाको जनजीवन प्रभावित भएको छ भने बर्दिवास नगरपालिकामा बन्दको प्रभाव देखिएको छैन।

१२ गाउँपालिका र २ नगरपालिकाका मुख्य बजार र सडकमा राजपाका नेता तथा कार्यकर्ताहरू ठाउँठाउँमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारहरूको गाडीसमेत आज चलेका छैन्।
बन्दले बजार, पसल, शैक्षिक संस्था, वित्तिय संस्थालगायत सरकारी निकायहरूमा पूर्णरुपले प्रभाव परेको छ। आमहडतालका कारण यस जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। सवारी साधन नचलेपछि बाहिरबाट आएका यात्रुहरू मर्कामा परेका छन्।

राजपासंग सरकारले पटकपटक गरेका सम्झौता विपरीत दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउने तयारी गरेपछि राजपाले बाध्य भएर आन्दोलनको घोषणा गरेको बताउनुहँुदै संविधान संशोधन, आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, घाइतेहरूलाई उपचार नगराएसम्म निर्वाचन हुन नदिने राजपाका नेता दिपुकुमार साह बताउँछन्।

राजपाले हडतालको आह्वान गरेपछि जलेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको छ। कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्याकर्मी नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्