रसुवाको विद्यालयमा विद्यार्थी रित्तिदै



नेपाल समाचारपत्र, रसुवा । रसुवाको पार्वतीकुण्ड गाउँपालिका–३ गत्लाङमा रहेको नेपाल राष्ट्रिय माविमा तीन वर्षदेखि निरन्तर विद्यार्थी घट्दै गएका छन् ।

गाउँबाट विदेशीले काठमाण्डौमा निशुल्क पढाउँन लाने क्रम बढेपछि विद्यालयमा विद्यार्थी घटेका हुन् । सो विद्यालयमा शैक्षिक सत्र २०७२ मा एक सय ५१ केटी तथा एक सय ३० केटा गरी दुई सय ८१, २०७३ मा एक सय ३० केटी र ९६ केटा गरी दुई २६ विद्यार्थी अध्ययनरत रहेका थिए । यो वर्ष भने विद्यालयमा एक सय ९० विद्यार्थी मात्र रहेका छन् ।

 

नेपाल राष्ट्रिय माविमा मात्र होइन जिल्लामा रहेको अधिकांस विद्यालयको उहि हालत छ । बृद्धिम स्थित लिङलिङमा रहेको लिङलिङ प्राविमा यो वर्ष कक्षा एकमा ११ जना विद्यार्थी मात्र रहेका छन् । कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालय गत वर्ष कक्षा ३ सम्म कायम भएको हो ।
कक्षा २ र ३ मा विद्यार्थी सङ्ख्या नरहेको विद्यालयले जनाएको छ । त्यस्तै पर्यटकिय क्षेत्र थुमनमा रहेको अरुणोदय प्राविमा ३ जना विद्यार्थी मात्र अध्ययनरत रहेका छन् ।

 

स्पोन्सरसिपले घटायो विद्यार्थी
विशेषगरी स्पोन्सरसिपमा पढ्न जानेमा जिल्लाको माथिल्लो क्षेत्रका विद्यार्थीहरु बढि छन् । पर्यटकिय क्षेत्रको रुपमा परिचित क्षेत्र लाङटाङ, बृद्धिम, थुमन, स्याफ्रु लगायतका क्षेत्रका वालवालिका स्कलरसिपमा पढ्न जाने गरेका छन् ।

जिल्ला भित्रने विदेशी पर्यटकहरुले काठमाण्डौमा लगेर निशुल्क पढाउँने गरेका छन् । केही वालवालिकालाई भने विभिन्न देशमा समेत लैजाने गरिएको छ । गाउँबाट काठमाण्डौ तथा अन्य देशमा समेत लगेर निशुल्क पढाउँन थालेपछि विद्यालयहरु वन्द हुने अवस्थामा पुगेका छन् ।

 

नेपाल राष्ट्रिय मावि गत्लाङका प्रधानाध्यापक नविन लामाका अनुसार दरवन्दी अनुसारको शिक्षकको अभाव, विषयगत शिक्षक नहुनु लगायतका कारण पनि राम्रो शिक्षा पाउने आशामा स्पोनसरसिपमा पढ्न जाने बढ्दै गएको हो ।

 

विद्यालय र विद्यार्थीको अवस्था
जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार जिल्लामा अहिले सामुदायिक तथा संस्थागत विद्यालय गरी एक सय आठ वटा विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लामा अहिले ९८ वटा सामुदायिक तथा १० वटा संस्थागत विद्यालय रहेको छ ।

 

जसमध्ये २३ वटा माध्यमिक, ४० वटा आधारभूत र ४५ वटा प्राथामिक विद्यालय रहेको छ । जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा स्पोन्सरसिपमा पढ्न जानेको सङ्ख्या न्युन रहेपनि पार्वतीकुण्ड गाउँपालिकामा रहेको १३ र गोसाइँकुण्ड गाउँपालिकामा रहेको १९ वटा विद्यालयमध्ये अधिकासं विद्यालयमा स्पोनसरसिपमा जानेको सङ्ख्या उच्च छ ।

स्पोन्सरसिपका कारण जिल्लाका प्राथामिक विद्यालयदेखि माध्यमिक विद्यालयमा समेत तीन जनादेखि ११ जना मात्र विद्यार्थी हुन्े अवस्थाको सृजना भएको छ । कार्यालयका अनुसार शैक्षिक सत्र २०७२ मा चार हजार ८७३ केटी र चार हजार ४६१ केटा गरी नौ हजार तीन सय ३४ विद्यार्थी रहेका थिए ।

 

गत वर्ष पाँच हजार ६७२ केटी र पाँच हजार २६४ केटा गरी १० हजार नौ सय ३६ विद्यार्थी रहेको कार्यालयको तथ्याङ्क छ । जिल्लामा विद्यार्थी सङ्ख्या केही बढेको देखिएपनि जिल्लाको माथिल्लो भागमा रहेको विद्यालयमा भने विद्यार्थी घटिरहेका कार्यालयले जनाएको छ ।

 

ग्रामिण भेगमा वसोवास गर्ने नागारिक प्रति काठमाण्डौमा निशुल्क पढ्ने तथा पढाउने मोह बढ्दै गएपछि गाउँमा रहेको विद्यालय वन्द हुने अवस्थामा पुगेको गोसाइँकुण्ड गाउँपालिका–५ ठुलोस्याफ्रुमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा तामाङले वताउनुभयो ।


जिल्लामा सञ्चालनमा रहेका आधा दर्जन विद्यालय मर्ज हुने अवस्थामा पुगेका छन् । तर विद्यालय मर्ज भएपछि गाउँमा पुनः विद्यालय सञ्चालन गर्न झन्झटिलो भएकाले विद्यालय मर्ज हुन सकेका छैनन् ।

 

जिल्लामा भूकम्पका कारण विस्थापित भएका विद्यालय करिव करिव मर्ज हुने अवस्थामा छ । लाङटाङमा रहेको लाङटाङ प्रावि, हाकुको तिरु प्रावि, डाडाँगाउँको करुम¥याङ प्रावि र भूमेदेवि प्रावि मर्ज हुने अवस्थामा पुगेका छन् ।

 

गाउँमा भूकम्पका कारण सुख्खा पहिरो झरेर गाउँ नै विस्थापित भएको र भूकम्प अघि विद्याथीको सङ्ख्या समेत न्युन रहेकोले विद्यालय मर्ज हुने अवस्थामा रहेको हो । विद्यार्थी रित्तियपछि स्याफ्रुको कोमिन प्रावि वगत वर्ष नै मर्ज भएको थियो ।

 

लाङटाङमा रहेको लाङटाङ प्राविमा ४ वर्षअघि नै विद्यार्थी रित्तिएका थिए । जिल्ला शिक्षा अधिकारी शुकदेव सापकोटाले भन्नुभयो ‘मर्ज गरेपछि विद्यालय पुनः सञ्चालनमा ल्याउन झन्झटिलो छ । विद्यार्थी कम भएको विद्यालय वन्द गर्दा ति विद्यार्थीलाई अर्को विकल्प नहुँदा पढाइबाट वञ्चित हुने भएकाले मर्ज गर्न नसकिएको हो’ ।

 

नेपाल सरकारले माध्यमिक तहको शिक्षा निशुल्क गरेको र पर्यटक मार्फत काठमाण्ठौ पढ्न जानेलाई पनि कक्षा १० सम्म पढाएर छोड्ने गरेको पाइएको जिल्ला शिक्षा अधिकारी सापकोटाले वताउनुभयो । प्रत्येक वर्ष गाउँबाट विद्यार्थी रित्तिदै गएपनि कहाँ जान्छन ? कतिको सङ्ख्यामा जान्छन भन्ने तथ्याङ्क कुनै पनि निकायले राख्ने गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्