रोल्पामा डाक्टर नहुँदा जटिल प्रसूति सेवा ठप्प



रोल्पा, ३० जेठ । जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण प्रसुति सेवा लिन आएका सेवाग्राही महँगो शुल्क तिरेर उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।

जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भएपनि तालिमप्राप्त एकजना मात्र चिकित्सक भएका कारण उहाँको अनुपस्थितिमा सेवा प्रभावित हुँदै आएको बताइएको छ । जटिल प्रसूति सेवाका लागि भवनलगायत सम्पूर्ण पूर्वाधार रहेपनि चिकित्सकको अभावमा सेवा प्रभावित हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा सो सेवा दिनका लागि तालिम लिएका चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सेवा प्रभावित भएको हो ।

प्रसूतिको दिन नजिकिएसँगै सेवा लिन जिल्ला अस्पताल आइपुगेकी दुईखोली गाउँपालिका कुरेली रोल्पाकी मञ्जु थापाले तालिम प्राप्त चिकित्सक नभएको खबरले आफूलाई चिन्तित बनाएको बताउनुभयो ।

जिल्ला अस्पतालबाटै सेवा पाइन्छ भनेर घरबाट आइयो, यहाँ भने डाक्टर नहुँदा पैसा ऋण गरेर बाहिर जानुपर्ने भएको छ थापाले गुनासो गर्नुभयो ।

रोल्पा नगरपालिका–२ की उमा चन्दले गर्भवती चेकजाँचका लागि जिल्ला अस्पताल गएपनि तालिम प्राप्त चिकित्सकको निरन्तरता नहुँदा सेवा लिन कहाँ जाने हो भन्ने कुराले चिन्तित बनाएको बताउनुभयो । जिल्लामै शल्यक्रिया सेवा भएकोमा खुसी लागेको भए पनि यसको निरन्तरता नहँुदा दुःख लागेको उहाँले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर रहेका तथा घरमा सहयोग गर्ने अन्य मान्छे पनि नभएका परिवारलाई निकै कठिन हुने गरेको उहाँको भनाइ छ ।

अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा सेवा लिन आएका नौजना सेवाग्राहीलाई यसै महिना जिल्ला बाहिर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

तालिमप्राप्त चिकित्सकको अनुपस्थितिसँगै अर्को चिकित्सक भर्ना गर्नका लागी दर्खास्त आह्वान गरिएको भएपनि कसैले दर्खास्त नदिँदा पदपूर्ति गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख तेजेन्द्र साउदले जानकारी दिनुभयो ।

नयाँ चिकित्सक भर्नाका लागि स्थानीय निकायसँग समन्वय भइरहेको साउदले बताउनुभयो । बजेटको सुनिश्चितता हुने बित्तिकै नयाँ चिकित्सक भर्ना गरिने साउदले जानकारी दिनुभयो । रोल्पामा विशेषज्ञ चिकित्सक आउन नमान्ने र जुनियर चिकित्सक पनि राम्रो अवसर पाउने बित्तिकै अर्को ठाउँमा गइहाल्ने भएका कारण समस्या आउने गरेको उहाँले बताउनुभयो ।

निरन्तर सेवा दिनसके सेवाग्राहीको सेवाप्रति विश्वसनियता बढ्ने भएकाले सेवाग्राहीको विश्वास जित्नका लागि पनि निरन्तर सेवा जरुरी रहेको साउदले बताउनुभयो । यसका लागि जिल्लामा राजनीतिक दल, नागरिक समाज र बौद्धिक तप्काले समेत बारम्बार सहयोग गरिरहनुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालबाट जटिल प्रसूति सेवा सञ्चालन भएसँगै सेवा लिनेको सङ्ख्या ६५ पुगेको जिल्ला अस्पताल रोल्पाका स्टाफ नर्स शर्मिला आचार्यले जानकारी दिनुभयो । अघिल्ला दुई वर्षमा ३१ जनाले मात्र सेवा लिएकोमा चालु आवको वैशाखसम्म ३४ जनाले सेवा लिएको देखिएकाले यसको विश्वसनीयता बढिरहेको आचार्यले बताउनुभयो ।

पछिल्ला दिनमा सेवा लिनेको आकर्षण बढिरहेको भएपनि तालिम प्राप्त चिकित्सकको अभावले सेवाग्राहीमा सेवाप्रतिको निरन्तरतामा सकारात्मक सन्देश नगएको आचार्यले प्रतिक्रिया दिनुभयो ।

राम्रो सुविधा पाएपछि अन्यत्रै गइहाल्ने प्रवृत्तिका कारण जिल्लामा तालिम प्राप्त चिकित्सकको उपलब्धता हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टीका थापाले बताउनुभयो । चिकित्सकको व्यवस्थापनका लागि कार्यालय प्रमुख स्वास्थ्य मन्त्रालयमा गएकाले निकट भविष्यमा समस्या हल हुने उहाँले आशा व्यक्त गर्नुभयो ।

तालिमप्राप्त चिकित्सकको दिगोपनाका लागि जिल्लामा सर्वदलीय बैठकबाट हल खोजिने थापाले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल, रोल्पाले २०७१ साल फागुनदेखि जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरेको थियो । हाल शल्यक्रिया गरिने कोठामा ताला लागेको छ भने सेवा लिन आउने बिरामी महँगो शुल्क तिरेर एम्बुलेन्स तथा निजी सवारीसाधन प्रयोग गरी दाङ, प्युठान, बुटवल, नेपालगन्ज जान बाध्य भएका छन् ।

जिल्लामा प्रभावशाली नेता रहेपनि जिल्ला अस्पतालमा यस्तो समस्या हुनु राम्रो नभएको स्थानीयले गुनासो गरेका छन् । यतिबेला राज्यको प्रभावकारी निकायमा रोल्पालीको बाक्लो उपस्थिति रहेपनि अस्पतालको यस्तो अवस्थामा ध्यान नदिनु दुःखद् भएको भन्दै नागरिकले आक्रोश पोखेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्