ज्याक एसियाको सबैभन्दा धनी व्यक्ति



 

काठमाडौं, (नेस)
चीनको आलिबाबा गु्रपका संस्थापक ज्याक मा एकैदिन २ दशमलब ८ विलियन अमेरिकी डलर कमाउँदै एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग विलिनियर्स इन्डेक्सका अनुसार ज्याकको कम्पनी आलिबाबाले अनेपेक्षित रूपमा राजस्वमा वृद्धि गरेपछि उनको सम्पत्ति एसियामा सबैभन्दा बढी पुगेको छ भने विश्वमा नै १४औं धनी बनेका छन्।

पछिल्लो एक वर्षको अवधिमा नै ज्याकको सम्पत्ति ८ दशमलब ५ विलियन अमेरिकी डलरले बढेको छ। ज्याक गत मे महिनामा मात्र चिनियाँ अर्बपति वाङ जेनलिनलाई पछि पार्दै चीनको सबैभन्दा धनी व्यक्ति बनेका थिए। अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार ज्याकको सम्पत्ति ३० दशमलब ९ विलियन अमेरिकी डलर पुगेको छ भने वाङको सम्पत्ति ३० दशमलब ७ विलियन अमेरिकी डलर रहेको छ।

चिनियाँ ई–कमर्स कम्पनी आलिबाबाले यसवर्ष कम्पनीको कुल सम्पत्तिको १ तिहाई स्टक बजारबाट आर्जन गरेको हो। अघिल्लो वर्ष ७० डलर प्रतिकित्ता शेयर मूल्य रहेको आलिबाबा कम्पनीको १ वर्षमा नै १ सय २० दशमलब ३४ डलर पुगेको छ। आलिबाबा गु्रपको शेयर मूल्य बढेपछि सफ्ट बैंक गु्रप र याहोलाई पनि फाइदा पुगेको छ। आलिबाबा गु्रपको सफ्ट बैंकमा ३२ प्रतिशत शेयर रहेको छ भने याहोको १५ प्रतिशत शेयर रहेको छ।

गत मार्चमा फोब्र्सले सार्वजनिक गरेको संसार भरीका धनीको सूचीमा ज्याक २३औं स्थानमा थिए। फोब्र्सका अनुसार एसिया महाद्विपका सबैभन्दा धनी व्यक्ति हङकङका लि कासिङलाई उछिन्दै ज्याक पहिलो नम्बरमा पुगेका हुन्। युसी ब्राउजर पनि आलिबाबा कम्पनी कै उत्पादन हो। सन् १९९९ मा आलिबाबा कम्पनी स्थापना गर्नुभन्दा अगाडि ज्याक मा एक स्थानीय स्कुलमा अंग्रजी विषय पढाउने काम गर्थे।

(विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्