नेपालले आज यमनसँग खेल्दै



 

काठमाडौं, (नेस)
एएफसी एसियन कप २०१९ छनोटअन्तर्गत नेपालले दोस्रो खेल यमनसँग खेल्दै छ। आज हल्चोक रंगशालामा हुने खेलका लागि नेपालका २३ सदस्य टोली पनि सोमबार घोषित भएको छ। नेपालले यसअघि फिलिपिन्समा भएको अवे खेलमा ४–१ गोलअन्तरको हार बेहोरेको थियो। यसैले नेपालको लागि यो खेल जित्नै पर्ने दबाब पनि छ। यमनले भने किर्गिस्तानलाई २–१ ले हराएको थियो।

नेपालका जापानी प्रमुख प्रशिक्षक कोजी ग्योटोकुले ६ खेलाडीलाई पनि राष्ट्रिय टोलीमा पुनः समावेश गरेका छन्। जसमा गोलकिपर एलन न्यौपानेलाई फिर्ता बोलाइएको छ। उनी टोलीमा फर्कंदा गत भारतसँग खेलेको टोलीमा रहेका गोलकिपर विशाल श्रेष्ठ टोलीमा अटाएनन्। त्यस्तै डिफेन्डरद्वय मानबहादुर तामाङ र दिनेश राजवंशी, मिडफिल्डका सुनील बल र राजेन्द्र रावलले पुनरागमन गरेका छन्।

यसैगरी भारतविरुद्धको मैत्री खेलमा छनोट नभएका नेपालका चर्चित स्ट्राइकर अनिल गुरुङलाई पनि टोलीमा समावेश गरिएको छ। तर भारतसँग खेलेका तीन खेलाडी विशाल, सुमन लामा र विमल बस्नेतलाई ग्योटोकुले छनोट गरेनन्।
२३ सदस्यीय नेपाली टोलीः गोलकिपरमा विकेश कुथु, किरण कुमार लिम्बु र एलन न्यौपाने, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ, मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापामगर, राजेन्द्र रावल, हेमन गुरुङ र सुनील बल तथा फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घर्तीमगर।

प्रतिक्रिया दिनुहोस्