इन्जिनमा प्वाल परेको विमान सकुसल अवतरण



 

सिड्नी, (एजेन्सी)
चाइना इस्टर्न एयरलाइन्सको एक विमान दुर्घटनाको सिकार हुनबाट बचेको छ। अस्ट्रेलियाली शहर सिड्नीबाट सांघाईका लागि उडान भरेको एक घण्टामा नै पाइलटलाई विमानको इन्जिनमा खराबी भएको थाहा भएको थियो।

त्यसको लगत्तै पाइलटले विमानलाई पुनः सिड्नी विमानस्थलमा अवतरण गराए। उडान एमयू ७३६ इन्जिनमा प्वाल भएपछि उक्त संकट देखिएको हो।

अस्ट्रेलियाली सामाजिक सन्जालमा इन्जिनको प्वालसहितको विमानको तस्वीर भाइरल भइरहेको छ। यद्यपि एयरबस ए३३० विमानलाई सुरक्षित अवतरण गरेको र यात्रुहरूलाई कुनै चोट नलागेको जनाइएको छ। विमानका एक यात्रीले अस्ट्रेलियाली सेभेन न्युज नेटवर्कसँग भने– ‘अचानक हामीले आवाज सुनयौं। केही कुरा जलिरहेको जस्तो लाग्यो। म अत्यन्तै डराएँ, हाम्रो समूह पनि।

एबीसी न्युज नेटवर्कले चाइना इस्टर्न एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै भने– ‘विमानका चालक दललाई बायाँ इन्जिनमा केही गडबडी भएको आशंका भयो र उनीहरूले तत्काल सिड्नी विमानस्थलमा फिर्ता फर्काउने फैसला गरे। विमानमा सुरक्षासँग आबद्ध अधिकारीले उक्त घटनाको जाँच गरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्