भिड्न थाले मधेसी दल



 

बीपी साह, काठमाडौं
घीय समाजवादी फोरम नेपालले मधेसका जिल्लाहरूमा चुनावीसभा गर्दै छ। आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले फोरमको सभा बिथोल्न शुरू गरेको छ।

आइतबार सर्लाहीमा उपेन्द्र यादव प्रमुख अतिथि रहेको चुनावीसभालाई राजपाका कार्यकर्ताहरूले बिथोल्न खोज्दा दुई पक्षबीच झडपसमेत भएको थियो। केही दिन अघिसम्म आन्दोलनमा सँगै होमिएका मधेसी मोर्चामा आबद्ध फोरम र राजपाका कार्यकर्ताहरू एक आपसमा झडप शुरू गरेका छन्। सर्लाहीबाहेक अन्य जिल्लाहरूमा पनि राजपा र फोरम नेपालका कार्यकर्ताबीच झडपको सम्भावना बढ्दै गएको छ।

 

नेपाल समाचारपत्रसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो– ‘हामीले द्वन्द्व चाहेका छैनौं। राजपाले गुण्डा शैलीमा सभा बिथोल्ने प्रयास गर्यो । तर जनताले लखेटे।’

यादवले भोलिका दिनमा मधेसमा हुन सक्ने क्षतिको जिम्मेवारी राजपाले लिनुपर्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘झडपबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी राजपाले लिनुपर्छ। फोरम नेपालको बढ्दै गएको लोकप्रियताप्रति राजपा विचलित हुँदै अक्रमण शुरू गरेको छ। यसको जवाफ जनताले दिनेछन्।’

 

 

हामीले द्वन्द्व चाहेका छैनौं। राजपाले गुण्डा शैलीमा सभा बिथोल्ने प्रयास गर्यो। तर जनताले लखेटे। भोलिका दिनमा मधेसमा हुन सक्ने क्षतिको जिम्मेवारी राजपाले लिनुपर्छ।

–उपेन्द्र यादव
अध्यक्ष, फोरम नेपाल

 


द्वन्द्व हामीले गर्न खोजेका छैनौं। मधेसी जनताले स्वयं प्रतिकार गरेका हुन्। भोलिका दिन कुनै क्षति भए त्यसको जिम्मेवारी उपेन्द्र यादवले लिनुपर्छ।
–महेन्द्र यादव
नेता, राजपा

 

यता राजपाका नेता महेन्द्र यादवले आफूहरूले झडप नगरेको बताउँदै मधेसी जनताले प्रतिकार गरेको दाबी गर्नुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘द्वन्द्व हामीले गर्न खोजेका छैनौं। मधेसी जनताले स्वयं प्रतिकार गरेका हुन्। उपेन्द्रजीले जुन मधेसी जनतासँग धोकाधडी गर्नुभयो, त्यसको प्रतिवाद जनताले गरेका मात्र हुन्।’ यादवले भोलिका दिन कुनै क्षति भए त्यसको जिम्मेवारी उपेन्द्र यादवले लिनुपर्ने बताउनुभयो।

यता राजपासहित संघीय गठबन्धनले आन्दोलनलाई आक्रामक बनाउने तयारी गरेको छ। राजपाका अध्यक्ष मण्डलका सम्पूर्ण नेतासहित सम्पूर्ण पदाधिकारीहरू स्थानीयस्तरमा गएर आन्दोलन चर्काउने भएका छन्।

राजपाका सहमहामन्त्री राकेश मिश्रले पार्टीको निर्णयअनुसार सबै नेताहरू जिल्ला–जिल्लामा गएर आन्दोलन चर्काउने बताउनुभयो। उहाँले निर्वाचन बिथोल्ने आन्दोलनका लागि आन्दोलन परिचालन समिति निर्माणको क्रममा रहेको दाबी गर्नुभयो। यद्यपि आन्दोलन केका लागि भन्ने प्रश्नको जवाफ भने अप्ठेरो खालको छ। अर्थात् जनतालाई मत हाल्न नदिने भनेर जवाफ दिनुपर्ने अवस्था छ।
राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार मधेसमा द्वन्द्वले समग्र राष्ट्रलाई नै क्षति पुग्नेछ। उहाँले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको स्वीकार गरिसकेका दलहरूले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाए मधेसमा क्षति कम हुने बताउनुभयो।

संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय निकायको संख्या वृद्धि, मधेस आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्तासहितको माग गर्दै राजपाले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा गई दोस्रो चरणको निर्वाचनका सम्बन्धमा छलफल गर्नुभएको छ।

छलफलमा दोस्रो चरणको निर्वाचन तोकिएकै तिथिमा गर्नेबारेमा दुवै नेता सहमत भएका थिए।

प्रतिक्रिया दिनुहोस्