मतदाता शिक्षा कार्यक्रममा राजपाको अवरोध



कृष्णउदास खनाल, वीरगन्ज ।  राष्ट्रिय जनता पार्टी र सरकारबीचको बार्ता टुंगोमा नपुगेपछि उक्र पार्टीका कार्यकर्ताहरुले आक्रोश पोख्न थालेका छन् ।

उनीहरुको निसानामा निर्वाचन कार्यालय समेत परेको छ । जिल्ला निर्वाचन कार्यालय पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको मतदाता शिक्षा कार्यक्रममा अवरोध गरेका छन् । उनीहरुले मतदाता शिक्षा कार्यक्रम भइरहेको होटल कुमु प्यालेसमा प्रवेश गरी कार्यक्रम अवरोध गरेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

उनीहरुले निर्वाचन आयोग बिरुद्ध समेत नाराबाजी गरेका छन् । बिशेषगरी प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले दोश्रो चरणको निर्वाचनको तिथि सार्ने नसकिने अडान लिएपछि र सार्वजनिक रुपमा नै चुनावको पक्षमा आफ्ना भनाइहरु सार्वजनिक गरेपछि राजपा रुष्ट भएको बताइएको छ । राजपाका कार्यकर्ताहरुको अवरोधपछि कार्यक्रम पनि प्रभावित भएको निर्वाचन कार्यालय पर्साका प्रमुख होमनाथ पराजुलीलले जानकारी दिए ।

प्रहरी र राजपाका कार्यकर्ताबीच केही बेर वीरगन्जमा सामान्य झडप समेत भएको थियो । मुख्य राजनीतिक दलहरु पर्साको सबै गाउपालिका र नगरपालिका तथा उपमहानगरपालिकामा उम्मेदवार छान्न केन्द्रित रहदा र राजपाले आन्दोलन गरिरहदा असार १४ को निर्वाचनको भविष्यको बिषयमा समेत बिभिन्न अड्कलबाजी हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्