टोखालाई नगर कप फुटबल उपाधि



 

नेपाल समाचारपत्र
काठमाडौं
टोखा नगरपालिकाले प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा टोखाले चन्द्रागिरी नगरपालिकालाई ५–३ गोलअन्तरले पराजित गर्यो। टोखाले ३–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै उपाधि जित्न सफल भएको थियो। पहिलो हाफमा चन्द्रागिरीले ३–० को अग्रता लिएको थियो। चन्द्रागिरीका रुजित पुडासैनीले तीनै गोल गरेका थिए। रुजित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिदै १० हजार नगदबाट पुरस्कृत भए।

टोखाले सम्भव पाँचै गोल दोस्रो हाफमा गरेको थियो। टोखाका लागि त्रिलोक दुराले २ तथा आशीष डंगोल, अनिल थापा र विजय श्रेष्ठले १–१ गोल गरे।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्ला समन्वय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिकाले तेस्रो स्थानमा चित्त बुझायो। कीर्तिपुरले नागार्जुनलाई २–० ले हरायो। शीर्ष तीन स्थान हात पार्नेले उपाधिसंगै क्रमशः १ लाख ११ हजार १ सय ११, ५१ हजार १ सय ५१ र २५ हजार १ सय ५१ नगद पुरस्कार हात पारे।

विधागत उत्कृष्टतर्फ गोलरक्षकमा टोखाका नवीन श्रेष्ठ, डिफेन्समा टोखाका गोविन्द रिमाल, फरवार्डमा टोखाका आशिष डंगोल र प्रशिक्षकमा चन्द्रागिरीका रमेश विष्ट उत्कृष्ट चुनिए। उत्कृष्ट सबैले समान ५–५ हजार नगद पुरस्कार पाए। कीर्तिपुरले अनुशासित टिमको उपाधि हात पार्यो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र उपाध्यक्ष दामोदर भट्टराई, आयोजक जिल्ला समन्वय समितिका एलडीओ गोपाल अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका पदक विजेता काठमाडौंका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको थियो। जेठ २३ देखि शुरू प्रतियोगितामा काठमाडौंका १० नगरपालिका सहभागी थिए।

काठमाडौंका खेलाडी तथा प्रशिक्षक सम्मानित
काठमान्डौं खेलकूद विकास समितिले गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका छन्।

आइतबार सम्पन्न प्रथम अन्तर नगर कप फुटबल प्रतियोगिताको अवसर पारेर सातौं राष्ट्रिय खेलकूदमा पदक जित्न सफल काठमाडांबाट प्रतिस्पर्धा गरेका खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरिएको हो। उक्त अवसरमा नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। जसअन्तर्गत स्वर्ण, रजत र कास्यपदक विजेतालाई क्रमशः ३ हजार, २५ सय र २ हजारको दरले नगद प्रदान गरिएको थियो।

 

सातौं राष्ट्रिय खेलकूदमा बक्सिंगमार्फत रजत पदक जित्न सफल खेलाडी तथा नेपाल समाचारपत्रका खेल पत्रकार कविरस शर्मा काठमाडौं खेलकूद विकास समितिद्वारा आयोजित सम्मान कार्यक्रममा सदस्य सचिव केशवकुमार विष्टबाट सम्मानपत्र प्राप्त गर्दै।

प्रतिक्रिया दिनुहोस्