जर्मनीद्वारा गोल वर्षा



 

लन्डन, (एजेन्सी)
फिफा विश्वकप २०१८ को युरोपेली छनोटको समूह ‘सी’ अन्तर्गतको खेलमा जर्मनीले सान मारिनोमाथि गोल वर्षा गरेका छन्।

शनिबार राति भएको उक्त खेलमा विश्वविजेता जर्मनीले सान मारिनोलाई ७–० को भारी गोल अन्तरले पराजित गरेको हो। आफ्ना प्रमुख खेलाडीहरूलाई विश्राम दिएर पनि खेल अवधिभर एकतर्फी दबदबा कायम गरेको जर्मनीको जितमा स्यान्ड्रो वाग्नरले ह्याट्रिक गरेका थिए। उनले खेलको १६औं, २९औं र ८५औं मिनेटमा गरी तीन गोल गरेका थिए। जर्मनीले खेलको ११औं मिनेटमा नै पीएसजीका स्ट्राइकर जुलियन ड्रयाक्स्लरको गोलमार्फत शुरूआती अग्रता लिएको थियो। यस्तै अन्य गोलहरूमा जुलियन ब्रान्ट, अमिन युनेस र स्कोडरान मुस्ताफीले पनि आ–आफ्नो नाम लेखाए। जितसँगै समूह सी को शीर्षस्थानमा रहेको जर्मनीले ६ खेलबाट १८ अंक जोड्दै शतप्रतिशत जित हासिल गरेको छ।

यसैगरी समूह ‘सी’ कै दोस्रो स्थानमा रहेको उत्तरी आयरल्यान्डले पनि अजरबैजानलाई १–० ले पराजित गर्यो। खेलको ९०औं मिनेटमा स्टुआर्ट डल्लासले गोल गरेपछि पाहुना टोलीले महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो। योसँगै उत्तरी आयरल्यान्डको ६ खेलबाट १३ अंक भएको छ। यसै समूहको अर्को खेलमा नर्बे र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। खेलको ३६औं मिनेटमा गेब्रे सेलासीको गोलमार्फत चेकले अग्रता लिएको थियो। तर एल्कजेन्डर सोडरलन्डले ५५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा टुङ्याउन सफल भए।

इंग्ल्यान्ड र स्कटल्यान्ड बराबरी
विश्व कप छनोटअन्तर्गत युरोपेली क्षेत्रको समूह एफ को खेलमा इंग्ल्यान्ड र स्कटल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। उक्त खेलमा हारको नजिक पुगिसकेको इंग्ल्यान्डलाई ह्यारी केनले उद्धार गरेका थिए। खेलमा स्कटल्यान्डविरुद्ध २–१ ले पछाडि परेको अवस्थामा ह्यारी केनले खेलको अन्तिम क्षणमा गोल गरेपछि इंग्ल्यान्डको हार टरेको थियो।

खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा इङ्ल्यान्डले दबाब झेल्नुपरेको थियो। पहिलो हाफसम्म गोलविहीन उक्त खेलको ७०औं मिनेटमा एक्लेक्स चेम्बरलेनको गोलबाट इङ्ल्यान्डले अग्रता लिएको थियो। तर खेलको ८७औं मिनेटमा स्कटल्यान्डका लेइघ ग्रिफथ्सले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। त्यसको तीन मिनेटपछि ग्रिफथ्सले नै व्यक्तिगत दोस्रो गोल गरेपछि स्कटल्यान्ड २–१ ले अगाडि बढेको थियो। तर खेलमा थपिएको इन्जुरी समयमा तेस्रो मिनेटमा केनले गोल गरेपछि इङ्ल्यान्ड हारबाट जोगियो।

यसै समूहको अर्को खेलमा स्लोभाकियाले लिथुआनियालाई २–१ ले हराउँदा स्लोभानियाले पनि माल्टालाई २–० ले पराजित गरेको थियो। यस समूहमा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ। इंग्ल्यान्डले ६ खेलबाट १४ अंक बटुलेको छ। यस्तै समान खेलबाट १२ अंकसहित स्लोभाकिया दोस्रो स्थानमा छ। इंग्ल्याण्डसंग बराबरी गरेको स्कटल्यान्ड भने स्लोभेनिया पछि चौथो स्थानमा छ।

विश्वकप छनोटअन्तर्गत नै युरोपेली क्षेत्रको समूह ई मा पोल्यान्ड, मोन्टेनेग्रो र डेनमार्कले पनि जित हासिल गरेका छन्। शनिबार राति नै भएको खेलमा पोल्यान्डले रोमानियालाई तथा डेनमार्कले कजाख्स्तानलाई समान ३–१ को गोल अन्तरले पराजित गर्दा मोन्टेनेग्रोले पनि अर्मेनियालाई ४–१ ले पाखा लगाए। उक्त जितपछि समूहको शीर्षस्थानमा रहेको पोल्यान्डको ६ म्याचबाट १६ अंक भएको छ। यस्तै ६ म्याचबाट समान १० अंक भए पनि गोलभिन्नताको आधारमा मोन्टेनेग्रो र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्