अपदस्थ नेता गद्दाफीका छोरो हिरासत मुक्त



 

ट्रिपोली, (एजेन्सी)
लिबियाका अपदस्थ नेता कर्णेल मोमर गद्दाफीका दोस्रो छोरो साइफ अल – इस्लाम गद्दाफीलाई आइतबार लिबियाली सरकारले क्षमादान गर्दै रिहा गरेको सरकारी सूत्रले जनाएको छ। यस घटनाको कारण लिबियामा अस्थिरता थपिने राजनीतिक विश्लेषकहरूले बताएका छन्।

आफ्नो पिताद्वारा उत्तराधिकारीका रूपमा हेरिएका उनलाई विगत छ वर्षदेखि जिन्तान शहरमा एउटा छापामार समूहले बन्दी बनाउँदै आएको थियो। अबु बाकर अल सिद्दिकी बटालियन नामक सो छापामार समूहले उनलाई शुक्रबार हिरासतमुक्त गरिएको जनाएको छ।

तर उनलाई अझैसम्म सार्वजनिक गरिएको छैन। एक विश्वसनीय सूत्रले उनी पूर्वी लिबियाको टोब्रुक क्षेत्रमा रहेको बीबीसीलाई जानकारी गराएको छ। साइफका वकिल खालेद अल जाइदिले पनि उनी मुक्त भएको पुष्टि गरे पनि सुरक्षाका कारण उनी शहरमा रहेको भन्ने जानकारी दिएको छैन।

बटालियनले भने लिबियाको अन्तरिम सरकारको अनुरोधअनुसार साइफलाई छोडिएको बताएको छ। हुन त ट्रिपोलीको एक अदालतमा साइफको अनुपस्थितिमा उनलाई मृतयुदण्ड सुनाएको थियो।

यसअघि पटकपटक साइफलाई मुक्त गरिएको झुठो खबर फैलिने गरेको थियो। अन्तर्राष्ट्रिय आपराधिक अदालतले आफ्नो पिताको शासनकालमा विद«ोह दबाउने असफल प्रयासको क्रममा मानवता विरोधी अपराध गरेको अभियोगमा उनको खोजी गरिरहेको छ।

सन् २०११ को नोभेम्बरमा नाइजरतर्फ भाग्ने क्रममा हिरासतमा लिइएका साइफ पछि हातका थुप्रै औंला काटिएको अवस्थामा फेला परेका थिए। विगतमा कुख्यात प्ले व्वाइका रूपमा चिनिएका उनी प्रायशः पश्चिम जगतमा गद्दाफीका उत्तराधिकारीको रूपमा सार्वजनिक हुने गर्दथे।

सन् २००८ मा लन्डन स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि उपाधि प्रदान गरिंदा निकै विवादमा मुछिएका ४४ वर्षीय साइफलाई गद्दाफी अपदस्थ भएको ३ महिनापछि पक्राउ गरिएको थियो। सन् २०११ को फेब्रुअरीमा गद्दाफी विरुद्ध जनआन्दोलन शुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्