कांग्रेसका नेता माओवादी केन्द्रमा प्रवेश



 

बाँके ,(नेस)
नेपाली कांग्रेस, बाँकेका संगठन विभागका पूर्वप्रमुख एवं महाधिवेशन प्रतिनिधि अमर खड्का माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।

लामो समयदेखि पार्टीमा असन्तुष्टि राख्दै आएका खड्का शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। राप्तीपारि फत्तेपुरका युवा नेता खड्काले पार्टीभित्रबाट नै आफूलाई सिध्याउने खेल भएपछि बाहिरिएको उनले बताए।

राप्तीपारिको विकास र उज्यालोका लागि खड्काले लडेका थिए। वर्तमान सभापति किरण कोइराला आएदेखि नै खड्काको असन्तुष्टि रहेको उनी निकटहरु बताउँछन्। ‘बाहिरकासँग लड्न सकिन्छ, पार्टीभित्रबाट नै मलाई सिध्याउने खेल निरन्तर रह्यो’ –खड्काले निकटसँग बताउने गरेका थिए।

खड्कालाई माओवादी केन्द्रका नेताहरु महेश्वर गहतराज, आईपी खरेल र दामोदर आचार्यले फूलमाला–अबिर लगाएर पार्टीमा प्रवेश गराउनुभयो। प्रचण्ड सरकारले राप्ती सोनारी गाउँपालिकालाई दुई भागमा विभाजन गरेर फत्तेपुर, बिनौना र बैजापुरलाई एक मनाएको भूगोलमा खड्कालाई अगाडि सार्ने चर्चा चलेको छ। कांग्रेस नेताहरुले भने खड्का लामो समयदेखि निस्क्रिय रहेकाले उनी जाँदा पार्टीलाई ठूलो घाटा नहुने प्रतिक्रिया दिएका छन्।

फेरी रिले अनशन
नेपाली कांग्रेसको पार्टी कार्यालयमा केही कार्यकर्ताले शुक्रबारदेखि फेरी रिले अनशन शुरू गरेका छन्। क्षेत्र नं. ३ को उम्मेदवार छनोटमा क्षेत्रीय सभापति र एक जना सांसदले मनोमानी गरेको भन्दै आधा दर्जन कार्यकर्ता रिले अनशनमा बसेका छन्। यसअघि यही निर्णयको विरोधमा जिल्ला सदस्य राजु थापा आमरण अनशन बसेका थिए। पार्टी सभापति किरण कोइरालाले क्षेत्र नं. ३ को उम्मेदवार मिलाउने आश्वासन दिएपछि अनशन तोडेका थिए।

थापाकै माग राखेर शुक्रबारदेखि फेरी केही कार्यकर्ता रिले अनशनमा बसेका छन्। पार्टीले क्षेत्रीय सभापति, निकटतम प्रतिद्वन्द्वी, सांसद मिलेर उम्मेदवारको सिफारिस गर्न निर्देशन दिए पनि क्षेत्र नं. ३ का पार्टी सभापति रमेश गुप्ता र सांसद वादशाह कुर्मीले मनोमानी गरेको भन्दै कांग्रेस कार्यकर्ता आक्रोशित भएका छन्।

प्रतिक्रिया दिनुहोस्