निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



 

सरोजराज उपाध्याय, काठमाडौं
नागार्जुन नगरपालिका–३ स्थित इचंगुनारायण आधारभूत विद्यालयमा शनिबार महिला तथा बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाको आयोजनामा छत्रपाटी निःशुल्क चिकित्सालयको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविरमा उक्त वडाभित्रका करिब २ सय महिला र १ सय २५ जना बालकालिकाले स्वास्थ्य सेवा पाए।

महिलाहरूका लागि निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमा स्त्रीरोग विशेषज्ञ डा. सोना श्रेष्ठ, डा. वस्था महर्जनलगायत स्वास्थ्यकर्मीहरूले सेवा पुर्याउनुभएको थियो।

त्यस्तै बाल स्वास्थ्य परीक्षण बाल रोग विशेषज्ञ डा. रमेश मल्लको टोलीले बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको छ।
उक्त शिविरको स्थानीय व्यवस्थापन ‘माया नेपाल’ तथा इचंगुनारायण आधारभूत विद्यालयले सहयोग गरेको छ। कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाका सभापति अजय सिंह सुवालले क्यान्सरसम्बन्धी जनचेतना तथा स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि विस्तार गर्दै जाने बताउनुभयो।

छत्रपाटी निःशुल्क चिकित्सालयका सञ्चालक समितिका अध्यक्ष विजयबहादुर मालीले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्