भागबण्डाका कारण भ्रष्टाचार मौलाएको अध्यक्ष लोहनीको दाबी



 

काठमाडौँ, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् गायिका मीरा राणासहित करिव ३०० नेता– कार्यकर्ता आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)मा प्रवेश गर्नुभएको छ ।

प्रवेश गर्नेमा राप्रपाका काठमाडौँ पूर्वसभापति श्याम घिमिरे, कार्यकर्ताहरु उदयजङ्गा राणा, उज्ज्वल पोखरेल, सरु बास्तोलालगायत हुनुहुन्छ ।

कार्यक्रममा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रवादी चरित्र भएका शक्तिको एकता खाँचो रहेको औँल्याउँदै विभिन्न जाति तथा समुदायले भरिएको देशमा राजसंस्था राष्ट्रिय एकताको प्रतीक हुनसक्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले ठूला दलले गर्ने भागबण्डाका कारण भ्रष्टाचार र द्वन्द्व मौलाउँदै गएको भनी चिन्ता व्यक्त गर्नुभयो ।

पार्टीका उपाध्यक्ष विष्णु भट्टराई र तारानाथ लुइँटेलले देशमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्न सकिएमा अहिले देखा परेको राजनीतिक अन्योलताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य राणाले राप्रपाले लिएको सिद्धान्तका कारण जनताले विश्वास गरेको भए पनि जनतालाई सो पार्टीले धोका दिएकाले आफूहरु नयाँ पार्टीमा आएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्