बाल क्लबले गराए उम्मेदवार र जनताबीच साझा बहस



रामधन राई,खोटाङ ।

जेठ–२८, स्थानीय तहको निर्बाचनमा जनताको मत आफ्नो पक्षमा पार्न चुनबीसभा, प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा राजनीतिक दलहरु ब्यस्त भईरहँदा खोटाङका एक स्थानीय बाल क्लबले उम्मेदवार र जनतालाई एउटै मञ्चमा उतारेका छन् ।

जिल्लाको पहिलो नगरपालिका रुपाकोटमझुवागढी वडा नम्बर–५ लफ्याङस्थित स्थानीय नमुना बाल क्लबले स्थानीय तह निर्बाचनका लागि तयार वडाका सबै उम्मेदवारलाई एउटै मञ्चमा राखेर स्थानीय जनतासँग प्रत्यक्ष बहस गराएका छन् । ५ नम्बर वडाका समग्र बिकासका लागि साझा धारणामा प्रतिबद्घ बन्न र बनाउन ‘हाम्रो नेता, हाम्रै जनता, हाम्रो समस्या हामीले गर्ने बिकास’ नामक साझा बहस कार्यक्रम हालै सम्पन्न गरिएको हो ।

जिल्लाका जेष्ठ पत्रकार तथा बुद्घिजीवि कृष्ण आचार्यलाई प्रमुख अतिथि बनाई राष्ट्रिय गानबाट उद्घाटन गरिएको कार्यक्रममा वडाका सबै दलका सबै पद प्रत्यासी तथा स्वतन्त्र उम्मेदवार, राजनीतिकर्मी, बिकासप्रेमी–बुद्घिजीवि, समाजसेवी, शिक्षक–बिद्यार्थी,पत्रकार, खेलाडी, सुरक्षाकर्मी तथा सर्बसाधारणको उपस्थिती थियो ।

उम्मेदवारहरुको घोषणा–पत्र सहितको मन्तब्यपछि साझा बिषयमा दिनभर चलेको खुल्ला बहसमा बालबालिका, महिला तथा बृद्घबृद्घाको समेत सहभागीता रहेको थियो ।

जवाफदेही बक्ताका रुपमा उभ्याईएका वडा अध्यक्षका उम्मेदवारहरु कांग्रेसका केशब राई, एमालेका तेजप्रसाद अधिकारी, माओबादी केन्द्रका प्रेम कटवाल तथा संघीय समाजबादी फोरम र नयाँ शक्तिका साझा उम्मेदवार निर्मल राई अनि स्वतन्त्र उम्मेदवार उद्घब राई समक्ष स्थानीयले वडाका बिकास र समृद्घिका सवालहरु राखेका थिए ।

राप्रपाका प्रतिनिधि ईन्द्रबहादुर राई र नेकपा मालेका प्रतिनिधि झुलेन्द्र बिकलाई समेत जवाफदेही बनाईएको आमन्ने–सामन्ने बहसमा उम्मेदवार तथा दल स्वयमले प्रस्तुत गरेका घोषणापत्र र प्रतिबद्घताको सन्दर्भमा स्थानीयले कडा टिक्का–टिप्पणी गरेका थिए ।

उम्मेदवारहरुले पाँच बषभित्र कुनै पनि हालतमा पुरा गर्न असम्भब प्रतिबद्घता तथा घोषणा गरेको भन्दै जनतालाई झुक्याउन नखोज्न समेत सहभागीको संकेत थियो । घोषणा–पत्रमा कुनै पनि दलले नसमेटेका स्थानीय रुपमा टड्कारो आवश्यक्ताका बिषयमा सहभागीहरुले प्रश्न उठाएका थिए । उम्मेदवारहरुका लागि खबरदारी, प्रश्न, जिज्ञासा, आशंका र सुझाब दिनेहरुको संख्या उर्लंदो भए पनि कतिपय सवालहरु समयाभाबका कारण राख्न सकिएको थिएन ।

कतिपय कुराहरु प्रतिबद्घता तथा घोषणापत्रमा छुटेको स्विकार गर्दै टिप्पणीहरुलाई सुझाबको रुपमा लिएर आवश्यक पक्षहरुलाई थपेर लैजाने उम्मेदवारहरुले प्रतिबद्घता जाहेर गरेको नमुना बाल क्लबका अध्यक्ष रामचन्द्र राईले बताउनुभयो ।

उम्मेदवारहरु प्राय सबैले ५ नम्बर वडाको बिकासका पुर्बाधारमा जोड दिदैं स्थानीय स्रोतसाधनको परिचालन, ब्यवसायिक कृषि तथा रोजगारी, खेलकुद, पर्यटन लगायत स्थानीय आवश्यक्ता पूर्ति गर्ने कुरामा जोड् दिएको अध्यक्ष राईको भनाई छ ।

चुनाब नजिकिँदै गर्दा केही ठाउँहरुमा आक्रमण तथा दलहरुबीच झडप समेत भईरहँदा रुपाकोटमझुवागढी पाँचमा भने अवस्थालाई सौहार्द, शान्त तथा मर्यादित बनाउन पनि कार्यक्रम आयोजना गरिएको जनाईएको छ । कुन उम्मेदवारले जिते के गर्छन् ! भन्ने कुरामा अन्यौल भईरहँदा अन्य प्रतिस्पर्धी उम्मेदवार तथा सरोकारवालाका साथ दल तथा उम्मेदवारले प्रतिबद्घता राख्नाले सबैमा प्रष्ट हुने मौका मिलेको कार्यक्रम संयोजक सन्जयकुमार राईको भनाई छ ।

राईका अनुसार राजनीतिक आस्था र बिचार फरक परे पनि वडाका साझा समस्यालाई साझा ढंगले समाधान गरेर साझा रुपमै समृद्घि निर्माण गर्न सकौं भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । यो निर्बाचन अत्यन्तै ऐतिहासिक र महत्वपुर्ण भएकोले सबैले सबैको कुरा सुनेर बुझेर मात्र अघि बढ्न आवश्यक रहेकोले पनि कार्यक्रमले औचित्य बोकेको बताईएको छ ।

सामाजिक अभियन्ता, समाजसेवी दानबहादुर राईको बिशेष अतिथ्यमा सोही वडामा सम्पन्न कार्यक्रम अत्यन्तै आवश्यक, सान्दर्भिक र अनुकरणीय भएको भन्दै प्रमुख अतिथि वरिष्ठ पत्रकार कृष्ण आचार्यले आयोजक बाल क्लबलाई धन्यबाद दिनुभयो ।

निर्बाचन केन्द्रीत गतिबिधि तथा प्रचारप्रसारमा केन्द्रीत वडाका दल तथा उम्मेदवारहरुलाई चुनाबको नतिजा आउन साथै जस्को जित जस्को हार भए पनि एक ठाउँमा आएर आफ्नो वडाको समस्याको बारेमा छलफल गरी सँगसँगै अघि बढ्नुपर्ने आचार्यको सन्देश थियो ।

दुई नगर र आठ गाउँपालिकामा ७९ वडा रहेको खोटाङबाट कुल ४ सय १५ जनप्रतिनिधि यो पटक चुनिँनेछन् ।

प्रतिक्रिया दिनुहोस्