विरोध जनाउँदै पुस्तक फिर्ता



हेटौंडा,(नेस) ।

कक्षा–७ को नेपाली विषयको पाठ्यपुस्तकमा पहाडी शब्दको विपरीतार्थी शब्द मधेशी उल्लेख गरिएको विषयमा विरोध जनाउँदै इष्टु मकवानपुर र मकवानपुर जागरण अभियानले सरकारी निकायहरुमा ध्यानाकर्षण पत्रसहित पुस्तक फिर्ता बुझाएका छन् ।

त्रुटि सच्याउन आग्रह गरी बुझाइएको ध्यानाकर्षण पत्रलाई बेवास्ता गरी त्रुटि नसच्याए त्यस्ता पाठ्यपुस्तक जफत गरी फिर्ता पठाइने भन्दै सांकेतिकरुपमा एक÷एक थान पुस्तक बुझाइएको हो । आइतबार संस्थाका अभियन्ताहरुले क्षेत्रीय शिक्षा, जिल्ला प्रशासन र जिल्ला शिक्षा कार्यालयमा ध्यानाकर्षणपत्र र पाठ्यपुस्तक बुझाएका हुन् ।

क्षेत्रीय शिक्षा उपनिर्देशक हुकुमसिंह गुरुङले दुई संस्थाले यसअघि विरोधस्वरुप पाठ्यपुस्तक जलाएको बारे माथिल्लो निकायमा जानकारी भइसकेको बताए ।

सहायक जिल्ला शिक्षा अधिकारी शम्भुप्रसाद पौडेलले समस्या समाधानका लागि माथिल्लो निकायमा समन्वय गर्ने बताए । संस्थाले जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पाठ्यपुस्तकमा भएको त्रुटि सच्याउने पहल गर्न प्रशासन तत्पर रहेको बताए ।

पत्रमा चालु शैक्षिक सत्रमा जिल्लाका सम्पूर्ण नेपाली भाषा शिक्षकलाई उक्त त्रुटि सच्याएर पठनपाठन गर्न निर्देशन दिँदै आगामी शैक्षिक सत्रमा यस्ता त्रुटि सच्याउन जिशिकाको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिएको छ ।

सरकार आफैं प्रकाशक रहेको कक्षा–७ को नेपाली किताबको पाठ्यसामग्रीमा मधेश र पहाडवासी समुदायमा गलत प्रभाव पार्ने गरी शब्द उल्लेख गरिएकोमा गम्भीर आपत्ति रहेको पत्रमा उल्लेख छ ।

यस्ता शाब्दिक त्रुटिले देख्दा सामान्य लागे पनि यसले बालबालिकाको मनोविज्ञानमा दीर्घकालिन नकारात्मक प्रभाव छाड्ने भएकाले यसलाई सच्याउन कार्यालयहरुले समन्वयनकारी भूमिका खेल्ने अपेक्षा गरिएको मकवानपुर जागरण अभियान अध्यक्ष कृष्णराज कोइरालाले बताए । दुई संस्थाले यसअघि विरोधस्वरुप पाठ्यपुस्तक जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्