राजपाले फेरी आन्दोलन गर्ने, सरकारले दलसम्बन्धी ऐन संसोधन अघि बढाउने



नेपाल समाचारपत्र, काठमाडौं ।
सिंहदरबारमा भएको सत्तारुढ दलहरुसँगको बैठक निष्कर्षहिन भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता अनिल झाले अब आफूहरु आन्दोलनमा जानुको कुनै विकल्प नभएको बताएका छन्। हिजोको जस्तै आजको बैठकमा पनि सत्तारुढ दलका नेताहरु राजपाका मागमा निरिह देखिएको आरोप उनको छ।

‘राजपालाई बाहिर राखेर कसरी चुनाव हुँदो रहेछ हेरौं।’ बैठकपछि नेता झाले भने ।

बैठकमा आफुहरुले स्थानीय तहको संख्या बढाउने, संविधान संसोधन गर्ने र आफ्ना कार्यकर्तालाई लगाएका मुद्दा फिर्ता लिने विषयमा सत्तारुढ दलहरुलाई आग्रह गर्दा उनीहरु निरिह देखिएको उनको भनाइ थियो। अब छिटै बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताएका छन ।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकार गठबन्धनका नेताहरुले अत्यन्तै लचिलो भएर राजपालाई चुनावमा ल्याउन राजनीतिक दल सम्बन्धी स्थानीय निर्वाचन ऐन संसोधनको कुरा अघि बढाउने जानकारी दिएको बताए। चुनावमा ल्याउनका लागि गर्न सकिने सबै कुराहरुमा छलफल भएको तर मनस्थिति हेर्दा चुनावमा आउन नचाहे जस्तो देखीएको उनको भनाई छ ।

स्थानीय तहको संख्याको विषय अदालतमा रहेकाले दलहरु यसमा विवश भएको कुरा पनि बैठकमा राखिएको भनाइ नेता श्रेष्ठको थियो।

यसैवीच राजपा नेताहरुसँगको बैठक निष्कर्षहिन भएपछि राजनीतिक माहोल अझै पेचिलो बनिरहेका बेला राजनीतिक दलसम्बन्धी ऐन, ०७३ संसोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय सरकारले गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसोधनको मस्यौदालाई स्विकार गर्दै सो प्रस्ताव सदनमा दर्ता गर्ने निर्णय गरेको हो।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको आगामी स्विटजरल्याण्ड भ्रमणलाई स्विकृति पनि दिएको छ।

त्यसैगरी, जापान सरकारले नेपालका निजामती कर्मचारीको अध्ययन कोटाका लागि दिएको २६ करोड ५३ लाख रुपियाँ बराबरको अनुदान पनि आजको मन्त्रिपरिषद बैठकले स्विकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्