दाङका व्यापारी सल्यानमा बेपत्ता



नरेन्द्र केसी, दाङ
जिल्लाको तुलसीपुरका एक व्यापारी सल्यानमा बेपत्ता भएका छन्। बुटवल बस्त्रालयका प्रोप्राइटर राजकुमार श्रेष्ठ रोटरी क्लबको बैठकमा जाने भन्दै घरबाट पौने आठ बजेतिर निस्कनुभएको थियो। उहाँ चढेको बा १२ च १०७१ नम्बरको गाडी कपुरकोट गाउँपालिका र सल्यानको सिनबाङ तथा रिमको बीचमा फेला परेको छ।
श्रेष्ठको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा प्रहरी सल्यान पुगेको छ।

प्रहरीका अनुसार मोबाइल अफ छ, श्रेष्ठ सवार गाडीको दुईवटा टायरको हावा फुस्काएको बताइएको छ। श्रेष्ठ चढेको गाडी उहाँकै भएको प्रहरीले जनाएको छ। श्रेष्ठ दाङमा नाम चलेका व्यापारी हुन्। यस अघि गत कात्तिकमा उनको ३० लाख भारतीय रुपियाँ तुलसीपुर बसपार्कबाट लुटिएको थियो।

श्रेष्ठको गाडी नजिकै भारतीय नम्बरको गाडी पनि फेला परेको छ। एचपी ११८६४८ नम्बको गाडी र दुइ जना भारतीय नागरिक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।

स्काभेटरको पैसा लिन रुकुम जानेक्रममा तुलसीपुर सल्यान सडकको सोलाबाङबाट भारतीय नागरिक चढेको गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। दुई भारतीय नागरिक कपुरकोट प्रहरीको नियन्त्रणमा छन्। व्यापारी श्रेष्ठ आफैं बेपत्ता भएका हुन या कसैले अपहरण गरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्