सांघाई कोपरेसन अर्गनाइजेसनमा भारत र पाकिस्तानलाई पूर्ण सदस्यता



अस्टाना, (एजेन्सी)
कजाखस्तानको अस्तानामा सम्पन्न सांघाई कोपरेसन अर्गनाइजेसनको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ। ती दुई नेताहरूबीच चीन–पाक इकोनोमिक कोरिडो (सीपीईसी) र न्युक्लियर्स सप्लायर्स ग्रुपमा भारतको सदस्यतालाई लिएर चर्चा भएको जनाइएको छ। दुवै देशले थुपै्र मद्दामा तनाव कम गर्ने विषमा पनि वार्ता गरेका छन्।
मोदीले सम्मेलनमा एससीओमा भारतलाई सदस्यता दिएकोमा सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेका थिए। मोदीले सम्बोधनमा आतंकवादको मुद्दा उठाएको तर उनले पाकिस्तानको नाम भने उल्लेख गरेन।

सोही सम्मेलनमा भाग लिन कजाखस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले एससीओको सदस्यता प्राप्त गरेकोमा भारतलाई बढाइदिएको थियो। बिहीबार अस्ताना पुगेका प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री सरिफबीच पनि छोटो भेटवार्ता भएको थियो।

ती दुवै देशलाई योपटक सदस्यता दिएको हो। ६ सदस्य राष्ट्र रहेको यो संगठन सन् २००१ मा गठन भएको थियो। सन् २०१५ मा संगठनको शिखर सम्मेलन रुसको उफामा भएको थियो। त्यसमा भारत र पाकिस्तानलाई संगठनको स्थायी सदस्यका रूपमा सहभागी गराउने प्रस्ताव पारित भएको थियो।

मोदीले सम्बाधनमा भने– ‘एससीओ हाम्रा राजनीतिक तथा आर्थिक सहयोगको मुख्य आधारशिला हो। एससीओमा हाम्रो सहभागिताको थुप्रै आयाम छन्। ऊर्जा, शिक्षा, कृषि, सुरक्षा, खनिज, क्षमता विकास, विकास साझेदारी, व्यापार यसको महत्त्वपूर्ण फ्याक्टर हुन्। भारतलाई एससीओको सदस्यताले निश्चितरूपमा हाम्रो सहयोगलाई नयाँ उचाइ प्रदान गर्नेछ।

त्यसै गरी नयाँ सदस्यता प्राप्त गरेका पाकिस्तानका प्रधानमन्त्री सरिफले पाकिस्तान र भारतका लागि राम्रो दिन भएको र सांघाई कोपरेसन अर्गनाइजेसनको सदस्यताका लागि सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएका थिए। उनले मुठभेड तथा शत्रुताविहीन पुस्ताका लागि वातावरण बनाउनुपर्ने र एसओसीको माध्यमबाट एसियामा आर्थिक विकास ल्याउन, आतंकवाद कम गर्न र हतियारको दौड कम गर्न मद्दत मिल्ने बताए।

एससीओ एउटा राजनितिक तथा सुरक्षा समूह हो। यसको प्रधान कार्यालय बेइजिङमा छ। सन् २००१ मा गठन भएको यस समूहमा चीन, रुस, कजाखस्तान, उज्वेकिस्तान, ताजिकिस्तान र किर्गिस्तान स्थायी सदस्य छन्। यो संगठन सदस्य राष्ट्रहरूबीच सैन्य सहयोगका लागि बनाइएको हो। यसमा जाससी जानकारी साझा गर्नु र मध्य एसियमा आतंकवादविरुद्ध अभियान चलाउनु जस्ता कार्यक्रम पर्छन्।

हालैमात्र भारतले बेइजिङमा वन बेल्ट वन रोड (ओबीओआर) को शिखर सम्मलेन बहिष्कार गरेको थियो। भारतले यसलाई आफनो सारभौमको मामिला बताएको थियो। भारतले यसअघि पनि पाकिस्तानको ग्वादर बन्दरगाहदेखि चीनको सिनजियाङसम्म जोड्ने चीन–पाक कोरिडोरको विरोध गरेको थियो। भारतले उक्त मार्ग पाकिस्तानको कब्जामा रहेको कास्मिरको गिलगित बाल्तिसतान भएर गएको आरोप लगाएको छ। उक्त मार्ग पनि वन बेल्ट वन रोडको हिस्सा हो। चीनले भारतलाई पनि ओबीओआरमा सहभागी हुन अपिल पनि गरेको थियो।

मोदी र सरिफ भेट
अस्तानामा एससीओको ओपेराका क्रममा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच बिहीबार भएको भेटका क्रममा दुई नेताहरूले एक आपसमा अभिवादन गरेका थिए। सन् २०१५ डिसेम्बर २५ पछि यी दुई नेताबीच भएको यो पहिलो भेट हो। यस बीचमा सरिफले ओपन हार्ट सर्जरी गराइसकेका छन्। मोदीले सरिफको स्वास्थ्य स्थितिका बारेमा सोधेका थिए। साथै सरिफकी आमा र परिवारका बारेको हालखबर पनि सोधेका थिए। उनीहरू बीचको अनौपचारिक कुराकानी केही समय चलेको थियो।
सन् २०१५ मा अफगानिस्तानबाट स्वदेश फर्कने क्रममा प्रधानमन्त्री मोदी लाहौरमा राकिएका थिए। त्यसबेला मोदीले सरिफलाई जन्मदिनको बधाई दिएको थियो। सरिफले त्यतिबेला मोदीलाई नातिनीको विवाहको अवसरमा निमन्त्रणा दिएको थियो। मोदी विगत १० वर्षमा पाकिस्तान पुग्ने पहिलो प्रधानमन्त्री पनि भए।

सी र मोदीवार्तामा दंगलको चर्चा
सी जिन पिङले मोदीसँगको वार्तामा उनले बलिउड दंगल फिल्म हेरेको र अत्यन्तै राम्रो लागेको बताएका थिए। चीनमा दंगल फिल्म अहिलेसम्म सबैभन्दा धेरै कमाउने गैरहलिवुड मुभी बनेको छ। दंगलले चीनमा ११ सय करोडभन्दा धेरै आम्दानी गरिसकेको छ। अहिले पनि चीनको ७ हजार पर्दामा यो चलचित्र देखाइरहेको छ। आमिर खानले आफूलाई दंगलले चीनमा राम्रो गर्ने लागेको तर यति धेरै सफलता हासिल गर्छ भन्ने नलागेको प्रतिक्रिया दिएका थिए।
चीन खेलकुदमा भारतभन्दा धेरै अगाडि भएको र चिनियाँ खेलाडीको संघर्ष पनि अत्यन्त चुनौतीपूर्ण हुने गरेको भए पनि दंगलजस्तो खेलाडीको जीवनीमा आधारित चलचित्र बन्न नसकेकोमा चिनियाँ सञ्चारमाध्यमहरूले त्यहाँको चलचित्र उद्योगको आलोचनासमेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्