प्रार्थनाले केही पनि परिवर्तन हुँदैनः दलाई लामा



नयाँदिल्ली, (एजेन्सी)
तिब्बती बौद्ध गुरू दलाई लामाले एक कार्यक्रममा प्रार्थनाबाट केही पनि परिवर्तन नहुने बताएको इन्डियन एक्सप्रेसले जनाएको छ।

उनले उक्त कार्यक्रममा शंकाको अन्त्य गरी मित्र बनाउने मार्ग अवलम्बन गर्नुपर्ने बताए। उनले भने– ‘दुर्भाग्य बस यहाँ धर्मको नाममा हिंसा भइरहेको छ। सिरिया र इराकमा हेर्नूस् के भइरहेको छ। हजारौंहजार बच्चा सिरियामा मरिरहेका छन्। हामीले कस्तो स्थिति उत्पन्न गराएको हो। हामी अरू मान्छे मरिरहेको हेरिरहेका छौं तर तटस्थ बनिरहेका छौं। म मानवताको एकात्मवादलाई लिएर पूर्णरूपमा प्रतिबद्ध छु।

‘यदि हामीले ती सबै भावनालाई साझा गर्ने हो भने हिंसा र युद्धका लागि कुनै स्थान बच्ने छैन। यो कठिन छ तर यसलाई हासिल गर्न सक्छ। मेरो भेट एक व्यक्तिसँग भएको थियो र उनले प्रार्थना गर्न आग्रह गरे। मैले भनें– म एक बौद्ध हुँ र हरेक दिन प्रार्थना गर्छु। तर, यसले विश्व शान्तिमय हुन्छ भन्ने कुरा म मान्दिनँ। हामी हजारौं सालसम्म प्रार्थना गर्न जारी राख्न सक्छौं तर यसले कुनै परिवर्तन हुनेवाला छैन। हामी यथार्थवादी हुनुपर्छ’, दलाई लामाले बताए– ‘यदि तपाईंलाई बुद्ध वा जिसस क्राइस्टसँग भेट्ने अवसर मिलेमा उनीसँग विश्वमा शान्ति ल्याउनका लागि भन्नुहोला र उसले निश्चितरूपमा तपार्इंसँग सोध्नेछन्– हिंसा कसले फैलाएको हो ? यदि हिंसा ईश्वरले फैलाएको हो भने शान्ति उसैले ल्याउनुपर्नेछ। त्यस्तोमा ईश्वरसँग शान्तिको अपिल गर्नु के सही हो ? म यो मामिलामा अत्यत निश्चिन्त छु कि बुद्ध वा जिसस क्राइस्ट तपाइंसँग भन्नेछन्– समस्या तिमीहरूले खडा गरेका हौ, त्यसैले यसलाई समाप्त गर्ने जिम्मेवारी पनि तिम्रै हो। शान्तिका लागि काम गर्नूस्, प्रार्थना गर्नु अत्यन्त सजिलो छ।’

तिब्बती बौद्ध परम्पराअनुसार अवतार विधिअनुसार दलाई लामा बनेका १४औं दलाई लामाले केही वर्षअगाडि भावी दलाई लामा चुनाव प्रक्रियाबाट छनोट हुने बताएका थिए। उनको यो नयाँ अवधारणालाई चीनले अस्वीकार गरेको थियो। सन् १९५९ मा भएको असफल विद्रोहपछि तिब्बतबाट भारत पलायन भएका दलाई लामालाई बेइजिङले पृथकतावादी विद्रोहीका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्