उस्ताद जोशी सम्मान रकम नपाएपछि प्रहरी कार्यालयमा



हेटौंडा, (नेस)। गत जेठ १५ गते हेटौंडामा सम्पन्न सम्मान कार्यक्रमका सम्मानित करिब ७५ वर्षीय हेटौंडेली कलाकार उस्ताद भोला जोशीले सम्मानवापत् घोषित रकम प्राप्त नभएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका छन्।

सांगीतिक प्रस्तुतिसहितको शान्तियात्रा कार्यक्रम भएको दुई साता बित्न लागिसक्दा पनि आयोजकले सम्मानवापत्को १ लाख रुपियाँ नदिएको भन्दै जोशीले बिहीबार उजुरी दर्ता गराएका हुन्। आफ्नो सम्पूर्ण जीवन नै संगीतमा समर्पण गरेका बयोवृद्ध संगीतकार जोशीले आफूलाई आयोजकले ठगी गरेको बताए। शान्तियात्राले कलाकार जोशीलाई नगदसहित सम्मान गरेको सार्वजनिक घोषणा गरेको थियो। जोशीलाई १ लाखको चेक र सम्मानपत्रसहित शान्तियात्रा लाइफटाइम म्युजिक अवार्डबाट सम्मानित गरिएको थियो।

दर्जनौं गीतमा संगीत भरेका जोशीका संगीतमा फत्तेमानदेखि राजेशपायल राईसम्मले स्वर जमाएका छन्। यतिमात्र होइन, उनका चेलाहरु चण्डी काफ्ले, चेतन सापकोटा, शिखर सन्तोषलगायत सबैले नाम कमाएका छन्। उनीद्वारा संगीतबद्ध बिस्र्यो क्यार खाएको कसममा लोचन भट्टराईले, विषलाई पिएर पनि हाँसिरहेछुमा फत्तेमानले र जुनमाया मैले तिमीलाई दिएथेंमा राजेश पायलले स्वर भरेका छन्। आफूद्वारा संगीतबद्ध देशमा चर्चित करिब ३० सबै गीत उनलाई अहिले याद छैन।

शान्तियात्राले ठगी गरेको भन्दै हेटौंडा–११ स्थित होटल हेटौंडा हाइटका सञ्चालक अमिर डंगोलले पनि उजुरी दर्ता गराएका छन्। १ हजार दर्शकका लागि खाना र पेयपदार्थसहितको तयारी गर्न भनिए पनि साँझको कार्यक्रम नगरी तयार गरिएको सामग्री खेर गएको र करिब एक महिनादेखि तयारीका क्रममा खाने बस्ने गर्दा ५ लाख ५० हजार रुपियाँबराबरको क्षति भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा डंगोलले उजुरी दर्ता गराएका हुन्। सम्मान कार्यक्रम गर्ने क्रममा रिगल हेटौंडा रिसोर्ट र टेन्ट सेवालाई पनि भुक्तानी दिइएको छैन। कार्यक्रमका क्रममा काठमाडौंबाट निम्त्याइएका वरिष्ठ कलाकारले पनि पारिश्रमिक नपाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्