जहाँ विद्यालयले खुवाउँछ खाजा, हरेक दिन फरक स्वाद



सन्तोष अधिकारी, गोरखा । पालेदाईले दिउँसो १ बज्ने वित्तिकै टिनिनन् घण्टी बजाउँछन् । विद्यार्थीहरु लाईन लागेर धारामा जान्छन् । पालैपालो हातमुख धुन्छन् ।

अनि फेरी लाईनमा बस्छन् । उनीहरु यस पटकको लाईनमा खाजा लिनका लागि बसेका हुन् । विद्यालयमा रहेका कर्मचारीले उनीहरुलाई जे तयार छ त्यै खाजा पालैपालो दिन्छन् । शिक्षकहरु पनि तिनै साना विद्यार्थीहरुसँगै बसेर खाजा खान्छन् । यस्तै दैनिकी सुरु भएको छ गण्डकी गाउँपालिका १ मकैसिङको जनजागृती प्राथमिक विद्यालयमा ।

यहाँका ८४ विद्यार्थीलाई आजकाल विद्यालयमै खाजाको ब्यवस्था भएको हो । अधिकांश चेपाङ, दलित र जनजाती विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा करिब एक महिना अघि देखि यस्तो कामको थालनी गरिएको हो ।
‘जब हाफछुट्टीको घण्टी बज्छ तब विद्यार्थीहरु धारा तिर जान्छन्’ विद्यालयकी प्रधानाध्यपक मिरा घिमिरेले भनिन् ‘हरेक बार थरिथरी खाजा खुवाईन्छ ।’ खाजाका लागि हप्ताको पाँच बारमा पाँच वटै मेनु छ । विद्यार्थीलाई चनाभुजा, सोमबार तरकारी चिउरा, मंगलबार चिया विस्कुट, बुधबार दहि चिउरा, विहीबार खाना नै खुवाउने गरेको घिमिरेले जानकारी दिईन् । शुक्रबार भने विभिन्न खेलकुदका कार्यक्रमहरु गरेर चाँडै नै विदा हुने भएकोले खाजाको ब्यवस्था छैन ।
विद्यार्थी र शिक्षकलाई खाजाको ब्यवस्थाका लागि इन योर ह्याण्डस् नामक संस्था अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले पनि सहयोग गरेको छ । त्यस्तै सो खाजा कार्यक्रमको लागि विद्यालयमा आएको सिमान्तकृत लक्षित बजेटको प्रयोग गरेको विद्यालयले जनाएको छ । खाजा बनाउन अन्तराष्ट्रिय उक्त संस्थाले कर्मचारी नै राखिदिएको छ । ‘विद्यालयले आवश्यक खाजाहरु ल्याउँछ अनि विल पेश गर्छ’ घिमिरेले भनिन् । उक्त संस्थाले अहिले एक वर्ष सम्म खाजाको लागि नियमित सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।
संस्थाले विद्यालयको भवन बनाउन, पुस्तकालय स्थापना गर्न, विद्यार्थीहरुलाई स्टेशनरी सामग्रीहरु वितरण गर्न विभिन्न कार्यक्रमहरु गरेर यस अघि देखि नै सहयोग गर्दै आइरहेको विद्यालयले जनाएको छ । संस्थाले विद्यालयमा कम्प्यूटर लगायतका सामग्रीहरु पनि सहयोग गरेको छ । त्यसरी खाना खुवाउँदा हरेक दिन १५ सय रुपैँया खर्च आउने गरेको छ ।
उक्त विद्यालय हरेक किसिमले नमुना बन्दै गएको घैरुङ स्रोत केन्द्रका स्रोत ब्यक्ति श्यामप्रसाद लामिछाने बताउँछन् । ‘विद्याथीहरु अनुशासित छन्’ लामिछानेले भने ‘विद्यालय उत्तिकै सफा छ । शिक्षकहरु लगनशिल छन् । अंग्रेजी माध्ययमा पठनपाठन सुरु गरेका छन् । खानेपानी, शौचालयको पनि राम्रो प्रबन्ध छ । विद्यार्थीले हरेक कक्षाकोठामा मनिटर राखेर कक्षा सरसफाई देखि हरेक गतिविधि गर्ने गरेका रहेछन् ।’
विद्यालयले विद्यार्थीलाई पोषणयूक्त खाजा खुवाउने गरेको पाइएको स्रोत ब्यक्ति लामिछाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्