देश बनाउने दृष्टान्त



पेशल आचार्य

दृष्टान्त १ः एकजना लमजुङतिरका कृषि विज्ञले गोष्ठीमा भाग लिएर चीनबाट फिरेपछि आफ्ना पाखामा बाँस लगाउन र सोको बहुप्रयोगका लागि सरकारसँग ‘प्रोपोजल’ पेस गरे। सरकारले उनलाई सहयोग गर्नु त परै जाओस्, कर्मचारी भएकाले निजामती सेवाभरि कुनै उद्योग गर्न नपाउने भनेर पत्र काट्यो। सरकारको ‘डेढअक्कली’ सोचलाई दुत्कार्दै उनले तक्काल राजीनामा दिए। त्यसपछि आफ्नो जिल्लामा बाँसका बारे चेतना फैलाउन र बाँसको बहुउपयोगी उद्योगमा काम गरिरहेका छन्। पाखाभित्ता गरेर उनको ५ सय रोपनी जग्गा रहेछ। यो सन्दर्भ ‘नेपाल समाचारपत्र’मा २०५६ तिर पढिएको हो।

दृष्टान्त २ः सुनसरीमा सेवाइलाल चौधरी नामक वृद्ध थिए। उनी शरीरमा आधा लुगा लगाउँथे। उनी खालि जग्गामा सिसौका बिरुवा रोप्दै हिँड्थे। ‘लुगा किन नलगाएको’ भनी सोध्दा ‘जबसम्म सुनसरीलाई हराभरा बनाउँदिनँ तबसम्म म लुगा लगाउदिनँ’ भन्थे। आफू बाँचुन्जेलसम्म एउटै लगौंटीमा लाज ढाके। उनले विदेशी विश्वविद्यालय पढेका थिएनन्। उनलाई संसारको ‘ग्लोबल वार्मिङ’ पनि केही पत्तो थिएन। फगत आफू र आफ्नो वरिपरिको परिवेश हराभरा पार्न चाहन्थे। उनी वातावरणका नाममा ‘युएन’ र अन्य गैरसरकारी संस्थाबाट हुने ‘कागजी रिपोर्ट’मा दख्खल राख्ने व्यक्ति थिएनन्। जीवनमा हरियाली चाहे। वनस्पति र चरी–पक्षीसँग मितेरी गाँस्न खोजेका थिए तर उनको सपना पूरा भएन। उनी मरे तर उनका सपना भने मरेका छैनन् । नयाँ सेवाइलालहरू जन्मिरहेका होलान्। खोजी गर्नुपर्ने दायित्वबाट हामी केही देखे⁄सुनेका मानिसहरू विमुख भइरहेका छौं।

दृष्टान्त ३ः सय रुपियाँमा नर्सरीदेखि एमएसम्म सुलभ र गुणस्तरीय शिक्षा दिँदै उत्तम सञ्जेल विगत डेढ दशकदेखि लागिपरेका छन्। हिँउद–वर्षा र घामपानी नभनी उनले गरेको सेवा अतुलनीय छ। उनले अहिले नेपालका ४८ जिल्लामा ‘समता शिक्षा निकेतन’ नामबाट स्कुलहरू चलाएका छन्, जहाँ धेरैजसो समताबाटै दीक्षित भएका विद्यार्थी काम गर्छन्। मुलुकमा गुणस्तरीय शिक्षाको चेतना ह्वात्तै बढेको छ। अभिभावकहरू सन्तानलाई प्राविधिक शिक्षा दिन आफ्नो घरखेत बन्दकी राखी सञ्चय कोष र बैंकबाट ऋण लिएर मुलुकबाहिर पढाउन लागेका छन्। तथ्याङ्क हेर्दा नेपालबाट बर्सेनि ‘नो अब्जेक्सन लेटर’ लिएर विदेश पढ्न जानेको लर्कोले यही कुराको सपाट जवाफ दिन्छ। यस्तोमा उत्तम सुलभ ज्ञानको प्रसारणलाई सरकारले क्यास गर्न सकेको छैन।

दृष्टान्त ४ः बीबीसी नेपालीका पूर्वप्रमुख तथा ‘हेल्प नेपाल’का अध्यक्ष रवीन्द्र मिश्र परोपकार पत्रकारितामा लामो समयदेखि चर्चित छन्। अहिले उनी साझा पार्टीका संयोजक छन्। आफ्ना किताबबाट मकवानपुरका लोपोन्मुख चेपाङ जनजातिलाई गरेको सहयोग र आफ्ना कविता वाचनमार्फत संकलन भएको रकम समाज सेवामा लगाएको खबरबाट उनी सेवा पत्रकारिता र साहित्यलाई समाजमा स्थापित गर्ने प्रयासमा छन्।

खोजी पस्दा नेपाली समाजमा महिला हिंसाविरुद्धमा ‘अवारनेस’को काम र पुनस्र्थापना कार्यमा अनुराधा कोइरालाले गरेको परिणाममुखी समाजसेवा, व्यावहारिक शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको ‘शिक्षकले चाहे गर्न सक्छन्’ भन्ने शिक्षण सीपमुखी जिल्लागत् चेतनामूलक कार्यक्रमका साथै सिकाइमा सोचान्तरणको नूतन प्रक्रिया, नेपाल प्रहरीप्रति जनताको दृष्टिकोणमा आमूल परिवर्तन गर्दै प्रहरीमा जबर्जस्त उदाएका प्रहरी अभियन्ता सर्वेन्द्र खनालले गरेको नेपाली फुटबलको म्याच फिक्सिङको पर्दाफास, एन्फाको भ्रष्टाचार कहिरन र त्यसपछि नेपालको अन्तर्राष्ट्रिय फुटबल सफलता आफैँमा मानक हो।

त्यस्तै ‘जहाँ जाम त्यहाँ सीताराम’ भन्ने ट्राफिक उखानका उद्भवकर्ता भनेरै चिनिएका ट्राफिक निरीक्षक सीताराम हाछेथुले राजधानीको अस्तव्यस्त ट्राफिक जामबारे थालेका सुकार्य, नेपाली चिकित्सा शिक्षालाई राजनीतिक व्यक्तित्वका नाममा ‘पण्डागिरी’ गर्दै गरिएको कालो व्यापार अनि लुटेरास्तरका अस्पतालविरुद्धमा छेडिएको डा. गोविन्द केसीको जेहाद र उनले थालेका शुद्धताका अनशनसँग सरकार झुकेका दृष्टान्तले समाजमा केही नयाँ कार्य थालनी गरेर समाजलाई अग्रगति दिने सोच क्रमशः बढिरहेको पाइन्छ।

नेपाली समाजमा अहिलेसम्म यस्ता व्यक्तित्वहरू यत्रतत्र लुकेर बसेका थिए। खुट्खबर थिएन। अहिले ठूलो शक्ति सूचना हो। मिडिया, मास मिडिया र सोसल मिडियाले सूचना र समाचार सम्पे्रषण निरन्तर प्रवाह गरिरहेका छन्। छापा र विद्युतीय माध्यमहरूले यस्ता प्रभावकारी समाचारलाई बढावा दिई तिनीहरूको निरन्तर अनुगमन गर्ने र बेला–बेलामा सरकारलाई दबाब दिने हैसियत बनाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका लेखक, स्तम्भकार एवम् पत्रकारहरूले सुबाटो देखाउने हो भने अनेकौं मार्गबाट चेतना र विकासलाई समाजमा स्थापित गर्न सकिन्थ्यो।

देश अघि बढाउन सुझावहरू
♦ विभाजित प्रदेशमा ठूला अस्पताल स्थापना गरी जनताको स्वास्थ्य बिमा गर्दै सबै रोगमा निःशुल्क, न्यून र सामान्य शुल्कमा उपचार व्यवस्था गर्ने ताकि सामान्य जनताले खर्च अभावमा मर्नु नपरोस्।
♦ स्वदेशी कच्चा पदार्थमा आधारित, नेपाली सीपोन्मुख प्रमुख खाद्यपदार्थ, दालहन, तेलहन, जडीबुटी र वन पैदावरसँग सम्बन्धित उद्योगबारे विविध अनुसन्धान, लघु एवम् दीर्घ प्रयोग शैलीमा अध्यापन हुने नयाँ विश्वविद्यालयहरू खोल्न सकिन्छ। नेपालमा बाँस, मकै, माछा, पशुपक्षी, कीट, जङ्गली जडीबुटी विश्वविद्यालय, हिमाल आरोहण⁄पदयात्रा⁄होमस्टे विश्वविद्यालय, मिथिला चित्रकला⁄थाङ्का विश्वविद्यालय जस्ता अनेक प्रकृति र विषयमा अध्यापन गराउन सकिन्छ।
♦ पारम्परिक विषयका अध्यापनलाई जारी राख्दै ‘प्लस टुबाट १८ वर्ष नाघेका विद्यार्थीलाई मोबाइल, कम्प्युटर, टेलिभिजन आदिको मर्मत गर्ने जस्ता जीवनोपयोगी सीप र कमाइ हुने कार्यमा पनि लगाउन सकिन्छ। कुरै गर्ने हो भने ठेट नेपाली खाना–खाजा, सबै जनजातिका खाजाका परिकारहरू, नेवारीका ऐला, छोइला, कचिला, योमरी, जाँड, पूर्वी नेपालका राजवंशीका भक्का, चितवने तास, हेटौंडे चटपटीले स–साना समूह निर्मित उद्योगबाट उत्पादित हुन कहिले पाउने ?
♦ शहरी प्रदूषण, नदीजन्य फोहोर, कीटाणु मिश्रित पानी, रोगका वैविध्यता, विषाक्तता, अस्तव्यस्त नगरोन्मुख, बजारीकरण आदिका विषयमा संसारका नाम चलेका विश्वविद्यालयसँग कार्यगत एकता गर्दै अध्ययन गराउने, अनुसन्धान केन्द्रहरूको स्थापना गर्ने कार्य पनि सकिन्छ।
♦ ‘नेपाल अन्तर्राष्ट्रिय रिसर्च सेन्टर’ बाट लोकबाजा, लोकनृत्य, लोकपहिरन, लोककथा, मिथक, भूतप्रेत, ऐतिहासिक पात्र, पुस्तकका कालजयी पात्र, सुविख्यात खेलाडीहरू, चलचित्रका नायक–नायिकाजस्ता समसामयिक विषयमा एनिमेटेड सिनेमा र चित्रकथाका साथै कमिक्सका एकीकृत उद्योगहरू स्थापना गर्न सकिन्छ।
♦ नेपाली समाजका गुन्द्रुक, सिन्की, मस्यौरा, तितौरा, फुरौला, खिर, रोटी, अचार, कुभिण्डोको मोरब्बा, खेलौना, डोको, डालो, पश्मिना, ढाका कपडा, चिया, कफी, फूल, फलफूलजस्ता कुटिर उद्योगमा महिलाका श्रम र सीपलाई तालिम एवं कार्यशालाका माध्यमबाट स्थानीय, केन्द्रीय र अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ।
♦ सगरमाथाको पानी र बुद्ध तथा सीता–भूमिको माटो मिलाई आकर्षक मूर्ति निर्माण गरेर विश्वबजारमा प्याक बनाई बेच्ने हो भने पनि आम्दानी बढ्छ। साथै नेपाल र नेपालीको काम र नामसमेत चम्कन्छ। यसको लागि देशले खाका बनाउनुपर्छ। विश्वमा भएका एनआरएनहरू तिनमा लगानी गर्न आतुर हुनेछन् तर वैदेशिक लगानीको सुनिश्चितता चाहियो।
♦ अहिलेको राजनीतिक माहोलमा आमूल परिवर्तन हुन जरुरी छ। संकीर्ण सोच भएका नेतालाई पाखा लगाएर जोशिला युवाको प्रवेश हुनुपर्छ। सधैँ सत्ता टिकाउने खेलमा लागिरहनेहरुबाट आमूल परिवर्तन हुन सक्दैन।
♦ नयाँलाई नयाँ तबरले काम गर्न दिएर देश बनाउन चाहने हो भने ‘नयाँ नेपाल’ बन्छ। नयाँ गर्न खोज्नेलाई पुरानाले स्वागत गर्नै पर्छ। ‘यो छैन, त्यो पनि हुँदैन’ भन्ने सोचमा ‘घुमिफिरी रुम्जाटार’ उखान मात्रै दोहोरिने हो भने जति नै वर्ष कुरे पनि नेपालको उन्नति हुन सक्दैन। यस्तै हो भने इतिहासमा ‘ने’ मुनिले पालित गरेको नेपाल प्रकारान्तरले ‘एसडी मुनि’का सल्लाहका भरमा पेण्डुलमझैँ विश्वमा हल्लिरहन बेर छैन ⁄ खाँचो स्रोत होइन, सकारात्मक सोच हो। त्यसैले साँच्चै देश बनाउने हो भने सोच परिवर्तनको खाँचो छ।
ट्राफिक निरीक्षक सीताराम हाछेथुले राजधानीको अस्तव्यस्त ट्राफिक जामबारे थालेका सुकार्य, नेपाली चिकित्सा शिक्षालाई राजनीतिक व्यक्तित्वका नाममा ‘पण्डागिरी’ गर्दै गरिएको कालो व्यापार अनि लुटेरास्तरका अस्पतालविरुद्धमा छेडिएको डा. गोविन्द केसीको ‘जेहाद’ र उनले थालेका शुद्धताका अनशनसँग सरकार झुकेका दृष्टान्तले समाजमा केही नयाँ कार्य थालनी गरेर समाजलाई अग्रगति दिने सोच क्रमशः बढिरहेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्