सोनापुर सिमेन्टको प्रदूषण, जसले हटाउँछ त्यसैलाई भोट



प्रशान्त वली, दाङ

स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते हुँदै छ। सोनापुर सिमेन्टका कारण हैरानी व्यहोर्नुपरेका दाङका स्थानीय बासिन्दाको माग छ– दलहरूले जसले यहाँको प्रदूषण अन्त्य गर्ने भन्छन् र काम थाल्छन् त्यसपछि मात्रै उसैलाई भोट हाल्ने हो।

जनताले पटकपटक आवाज उठाउँदा पनि केन्द्रबाट मान्छे पठाएझैं गर्ने र केन्द्रबाट पठाएको मान्छे उद्योग सञ्चालकको रसरंगमा भुलेर फर्किने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ।

तुलसीपुर उपमहानगरपालिका १९ दूधरासमा सोनापुर सिमेन्ट उद्योग स्थापना हुँदा स्थानीय निकै खुसी थिए। उद्योग स्थापना हुँदा खुसी भए पनि अहिले स्थानीयहरू उद्योगदेखि त्रसित छन्। कारण हो– उद्योगले दिएको पीडा।


उद्योग स्थापना हुँदा सञ्चालकले आश्वासन बाँडे पनि त्यो आश्वासन धेरै दिन टिक्न सकेन। फलस्वरूप अहिले स्थानीयहरू समस्याको घेराबन्दीभित्र बस्न बाध्य छन्। उद्योगले स्थानीयहरूलाई रोजगार उपलब्ध गराउने, स्थापनापश्चात बजार विस्तार भई स्थानीय लाभान्वित हुने भने तापनि मुखमा रामराम बगलीमा छुरा जस्तै भएको छ।

अधिकांश सर्वसाधारणले भने उद्योगबाट निस्कने धूवाँ धुलोबाहेक अरू केही पाउन सकेका छैनन्। उद्योग क्षेत्र नजिक बसेका अधिकांश सर्वसाधारणले अब कहिलै निको नहुने रोगको सिकार बनेको प्रतिक्रियासमेत दिन थालेका छन्।

उद्योगको धूवाँ धुलोका कारण आक्रान्त बनेका गाउँलेका लागि सिमेन्ट उद्योग अभिसाप नै बनेको तुलसीपुर उपमहानगरपालिका मंगरीका शंकर केसीले बताउनुभयो। उद्योगका कारण गाउँलेहरूमा धुलो, ध्वनि प्रदूषणका कारण मुटु फोक्सो, छालालगायतका विभिन्न रोगको सिकार बन्दै गएको पीडित केसीको भनाइ छ। औद्योगीक क्षेत्र नजिक करिब एक दर्जन विद्यालय रहेको र उद्योगबाट आउने धूवाँ धुलो र ध्वनिले विद्यार्थीलाई प्रतिकूल असर पुर्याउने गरेको छ।
घोराही–तुलसीपुर सडक खण्डको दूधरासदेखि १ किलोमिटर उत्तरमा सञ्चालन भइरहेको सोनापुर सिमेन्ट उद्योगले स्थानीयहरूले प्रतिबद्धताहरू जनाउने गरे पनि कार्यान्वयन गर्न सकेको छैन। स्कुल जानका लागि बिहान नुहाएर गएका विद्यार्थीहरू घर फर्किदा धुलाम्मे भएर फर्किने गरेका छन्।

धुलोका कारण सर्वसाधारण नै नचिन्ने हुन्छन्। स्थानीय गिरिराज डाँगीले भन्नुभयो– ‘कपडा धोएर सुकाउने ठाउँ छैन। बाहिर बस्ने हो भने धुलोले मान्छे चिनिँदैन। उद्योगको ध्वनिले रातभर निदाउन पाइँदैन। अहिले उद्योग क्षेत्र नजिक रहेका सबै कुवाहरूसमेत सुक्ने अवस्थामा छन्।’ उद्योग क्षेत्र नजिक रहेका स्थानीयहरूले रातको १० बजेपछि धूवाँ, धुलोले मात्र नभई उद्योगको ध्वनिले सुत्नै नदिने बताउने गरेका छन्। उद्योगका कारण सबैभन्दा बढी प्रभावित वृद्ध तथा विद्यार्थीहरू पर्ने गरेका छन्।

उद्योगकै कारण पछिल्लो समय अन्नबाली उत्पादनमा समेत कमी आउन थालेको छ। धान, गहुँ र मुसुराको उत्पादन घटेको स्थानीय किसानहरूले बताएका छन्। उद्योगबाट निस्कने सिमेन्टको धुलो जमिनमा टाँसिदा उत्पादनमा गिरावट आएको स्थानीय कृषकको गुनासो छ।

खेतमा बालीनाली लगाए सबै नउम्रने भन्दै सिमेन्टको धूवाँले बोटबिरुवा र बालीनालीलाई समेत असर पुर्याएको बताइएको छ।
अन्नबाली उत्पादन हुने जमिनमा उद्योगले असर पुर्याएको भन्दै वार्षिक अन्न उत्पादनमा समेत कमी आएको स्थानीय रमेश अर्यालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। पानीको समस्या नहुने दूधरास क्षेत्रमा उद्योग स्थापना भएसँगै इनारहरू केही वर्षदेखि सुक्दै गएका छन्। २०⁄२५ हातमै कुवा खनेर पानी आएको स्मरण गर्दै तुलसीपुर उपमहानगरपालिका–१४ का गगन नेपालीले अहिले ३५⁄४० हात खन्दा पनि पानी पाउन मुस्किल परेकोमा दुःख पोख्नुभयो। उद्योग सञ्चालनमा आएका बोरिङले पानीको सतह घटेको बताइएको छ। स्थानीय बासिन्दाहरूले पशुहरूलाई खुवाउने पानीको निकै हाहाकार भएको बताएका छन्। साढे ५ अर्ब लगानीमा स्थापना भएको उद्योगले दैनिक ८ सय मेट्रिकटन सिमन्ट उत्पादन गर्दै आएको छ।

धूवाँ धुलो नियन्त्रणका लागि प्रविधि जडान गरेको उद्योग प्रशासनको भनाइ छ। धूवाँ नियन्त्रणका लागि साइलेन्सर र धुलो नियन्त्रणका लागि ईएसटी प्रविधि जडान गरिएको उद्योग मन्त्रालयका सूचना अधिकारी लक्ष्मण गिरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उद्योग विभागले सिमेन्ट उद्योगले निम्त्याएको समस्याबारे अनुगमन गरिने बताएको छ। उद्योगमा २ सय ८० कर्मचारी कार्यरत छन्।

उद्योग मन्त्रालयले भने यसबारेमा थप अध्ययन गर्ने बताएको छ। उद्योग मन्त्रालयले अहिले कर्मचारीहरू निर्वाचनमा खटिएकाले निर्वाचनपश्चात उद्योगहरूको सघन रूपमा अनुगमन गरिने बताएको छ। मन्त्रालयका प्रवक्ता पुरुषोत्तम नेपालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उद्योगका कारण स्थानीयलाई केही समस्या भएको हुन सक्छ। यसको बारेमा केही समयमै अनुगमन हुन्छ।’

मन्त्रालयका विज्ञ पुष्कर वज्राचार्यको संयोजकत्वमा अनुगमन टोलीसमेत गठन भएको छ। उद्योग दर्तापूर्व वातावरणीय प्रभाव मूल्यांकनअनुरूप उद्योग सञ्चालन भए नभएको बारेमा छिट्टै अनुगमन हुने जनाइएको छ।

तर, विगतमा यस्ता अनुगमन गफमै मात्रै सीमित हुने गरेकाले सर्वसाधारणले भने पत्याउन सकेका छैनन्। ‘चुनावमा दलहरूले यसलाई एजेन्डा बनाएर सुधारको काम तत्काल थाल्नका लागि जुन पार्टीले यसलाई एजेन्डा बनाउँछन् त्यसैलाई भोट हाल्ने हो’ –स्थानीय विप्लव खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्