गोरखामा १ सय ५ घर अपांगमैत्री बन्दै



सन्तोष अधिकारी, गोरखा
गोरखा भूकम्प गएको दुई वर्ष बितिसक्यो। भूकम्पपछि भौतिक तथा मानसिक रूपमा गोरखालीलाई सहयोग गर्न दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू गोरखा भित्रिए। कतिपय संस्थाहरूले डोनरमुखी कार्यक्रम गरे र गरिरहेका पनि छन्। कतिपय संस्थाहरूले भने जिल्ला समन्वय समितिको स्वीकृतिमा समन्वय समिति तथा जिल्ला दैवी प्रकोप उद्धार समितिले सिफारिस गरेका क्षेत्रमा काम गरिरहेका छन्। भूकम्पका बेला सबै गोरखामा सपांगहरूको मात्र घर भत्केन। अपांगहरूको घर पनि पूर्ण रूपमा नै ध्वस्त भएको थियो।

अहिले तिनै अपांगहरूको घर बनाउन सहयोग गरेर गोरखामा आईएनएफ नामक गैरसरकारी संस्थाले घाउमा मल्हम लगाउन सहयोग गरिरहेको छ। आईएनएफले भूकम्पले प्रभावित जिल्लाका साविकका १० गाविस र २ नगरपालिकामा रहेका १ सय ५ जना अपांगहरूको घर बनाउन थालेको हो। त्यस्तै उसले विभिन्न तीनवटा माध्यमिक विद्यालयको अपांग मैत्री भवनसमेत बनाइरहेको छ। आईएनएफले अपांगता भएकाहरूका लागि मात्र सहयोग गर्ने काम गर्छ। ‘हाम्रो संस्थाले अपांगता भएकाहरूलाई सहयोग गर्ने गर्छ’, आईएनएफका गोरखा प्रमुख हीराबहादुर शाहीले भने– ‘भूकम्पलगत्तै हामी गोरखा आयौं। त्यस बेला आवश्यक सहयोग गर्यौं। सहयोग हामीले विशेष गरी अपांगता भएका व्यक्तिहरूलाई गर्यौं। अहिले हामी तिनै अपांगता भएका गोरखालीहरूको घर बनाइरहेका छौं।’

आईएनएफले जिल्लाको पालुंटार नगरपालिकामा ३ जनाको, छोप्राकमा ७५ जनाको र मुच्चोकमा २७ जनाको गरी १ सय ५ जना अपांगता भएकाहरूको घर अपांगमैत्री बनाइरहेको छ। केही घरहरूको निर्माण नै सकिएको शाहीले बताए। उक्त संस्थाले अपांगता भएकाहरूको घर निर्माण शुरू गर्दा ५० हजार सहयोग गर्यो। त्यसपछि थप निर्माण भएपछि दोस्रो चरणमा भने केही घरहरूलाई मात्र दोस्रो किस्ताको डेढ लाख पाएका छन्। पुनर्निर्माण प्राधिकरणका कर्मचारीहरू नियमित गाउँमा नखटिने, सरकारी नीति नियमहरू ढिलो गरी आउने गरेकाले घर निर्माण गरिसकेकाले रकम पाएका छैनन्।

यस संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने घरहरू सबै अपांगमैत्री हुने बताइएको छ। सबै घरमा रेलिङ, ह्विलचियर छिर्ने ढोकासहितको घर निर्माण भइरहेको हो। उक्त संस्थाले शारीरिक अपांगता भएका र बौद्धिक अपांगता भएकाहरूलाई अध्ययन गर्न सहज होस् भनेर विद्यालय पनि सोही अनुकूलको बनाएका छन्। जिल्लाको महेन्द्र ज्योति मावि दरबारमार्ग, सरस्वती मावि आहाले र विन्ध्यवासिनी मावि नारेश्वरमा बौद्धिक अपांगता भएका विद्यार्थीलाई आवासीय सुविधा हुने गरी विद्यालयको भवन बनाइरहेको शाहीले जानकारी दिए। त्यस्तै सिरान्चोक गाउँपालिका २ थालाजुङको वडा कार्यालय भवन पनि अपांगमैत्री बन्दै गरेको संस्थाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्